अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

नेपालमा एकैदिन कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु, थप ५ हजार ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:३९ मा प्रकाशित

नेपालमा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणबाट आज (बुधवार) एकै दिन २६ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी मुलुकमा सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार ५ हजार ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो । एकैदिन सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

पछिल्लो २४ घण्टामा २० हजार एक सय १८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार ९९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९९ हजार ६ सय ५ पुगेको छ । अब नेपालमा ४४ हजार ४ सय ७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म देशभर २ सय ६९ जना कोरोना संक्रमितको आईसियुमा र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ। मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रदेश १ मा ३१, प्रदेश २ मा ९, बागमतीमा १५२, गण्डकीमा २०, लुम्बिनीमा ४७, कर्णालीमा ७ र सुदूरपश्चिममा ३ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको जानकारी दिनुभयो ।

यस्तै प्रदेश १ मा १६, प्रदेश २ मा १, बागमती प्रदेशमा ५९, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा २ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। यसअघि मंगलबारसम्म देशभर २ सय ७३ जना कोरोना संक्रमितको आईसियुमा र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

हाल झापा, मोरङ, सुनसरी, काभ्रे, मकवानपुर, ललितपुर, काठमाडौँ, चितवन, कास्की, भक्तपुर, दाङ, बाँके, कैलाली, सुर्खेत, डढेलधुरा र रुपन्देहीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित नरहेको जिल्ला मुस्ताङ मात्रै हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू