अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

सिन्ड्रेला

सुशीला पौडेल २०७७ कार्तिक ४ गते ११:२६ मा प्रकाशित

एकैछिन मेरा आँसुका फोहराहरू बिसाएर
निस्सारताको घेराभन्दा माथि कतै पुर्‍याएर
रहरहरूको भँगालोभित्र भयको सन्त्रासलाई पोको पार्दै
आत्म निवेदनका बहावहरूमा मुटुको महाद्वीप बनाउँदै
पर क्षितिजपारिको कुनै घुर्मैलो बस्तीमा
न्यु इयर इभ मनाउन मन छ तिमीसँग ।

समयले डोर्‍याइदिएका पदचापहरू छोड्दै
एउटा छुट्टै ध्रुवीकरणको नक्सा कोर्दै
मनभित्र सधैँ बल्ने ज्वालामुखीको उज्यालो तापेर
पटक पटक जल्नबाट जोगाएको देव्रेपाटो सुरक्षित राखेर
शमसानघाट जस्तो शून्यता र एक्लोपन भुलेर
रङ्गिन नयाँ वर्ष भित्र्याउने साँझमा प्रेमील धुन सुन्न मन छ तिमीसँग ।

उदासीनताले गाँजेको आफ्नो दिनचर्यालाई
चिन्नै नसकिने झिलमिल बत्ती र मास्कभित्र लुकाएर
एउटा नयाँ रङ्गशालामा बर्सौँ अघि अन्यायपूर्ण रूपले
निर्वासित भएका मेरा सुकोमल हाँसो खोज्दै
लम्बाई नभएको यात्राको थालनी गर्दै
कल्पनाको अवरोध विहीन बिछ्यौनामाथि
सिङ्गो साँझ अचेत भइदिन मन छ तिमीसँग ।

कुनै मायावी शक्तिले खोटो भाग्यका धर्साहरू मेटाइदिए त
लय बिग्रेको कर्कश ध्वनिजस्तो जिन्दगीको अन्तिम संस्कार गरिदिए त
किम्वदन्तकी सिन्ड्रेला जस्तै म पनि रमाउँदी हुँ
तिम्रो ओठको रस पिएर मात्तिदीँ हुँ
जीवनको वास्तविकताको क्रमभंगतामा रमाएर
ए राजकुमार ! स्वप्न सुन्दरी सिन्ड्रेला झैँ
नयाँ वर्षको संघारमा जादुमय नृत्य गर्न मन छ तिमीसँग ।।

 

लालबन्दी, सर्लाही
हाल : काठमाडौँ

प्रतिक्रिया