अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

सैपालका च्याङ्ग्रा, पोखराको बजार

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ७:०५ मा प्रकाशित

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेडारच्याङ्ग्रा लैजाँदै गर्दा कैलालीको अत्तीरयामा भेटिनुभयो । व्यावसायिक रुपले भेडा र च्याङ्ग्रा पालन गर्दै आएको साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दसैँमा लागि बिक्री गर्न ११२ वटा भेडा÷ च्याङ्ग्रा लिएर पोखरा हिँड्नुभएको छ । बझाङ सदरमुकाम चैनपुरसम्म पुग्न दुई दिन पैदल हिँडेर आएका बोहराले पोखरामा सैपालको भेडारच्याङ्ग्राको व्यापार लामो समयदेखि रहेको बताउनुभयो ।

‘हाम्रो सुदूरपश्चिममा दसैँ तिहारजस्ता चाडपर्वमा खसीको मासुलाई बढी महत्व दिन्छन्,’ बोहराले भन्नुभयोे, ‘भेडारच्याङ्ग्रामा माग पोखरा र काठमाडौँलगायत शहरमा बढी हुन्छ।’ विगत चार वर्षदेखि चाडपर्वका बेला भेडारच्याङ्ग्रा खरिद बिक्रीमा सक्रिय उहाँले सात दिनको यात्रापछि पोखरा पुग्ने गरेको बताउनुभयो । ‘बाटोमा चराउँदै लैजाँदा सात दिनमा भेडारच्याङ्ग्रा पोखरा पुर्याउँछौं ’ उहाँले भन्नुभयो , ‘सुदूरपश्चिममा यसको माग छैन।’

सैपालका स्थानीय अधिकांशले भेडारच्याङ्ग्रा पालनलाई मुख्य व्यवसाय बनाउँदै आएका छन्। दुई दिनअघि मात्रै छ ट्रक भेडा÷च्याङ्ग्रा पोखराका लागि त्यहाँबाट हिँडेका छन्। कोरोना भाइरस महामारीका बेला भेडारच्याङ्ग्रा व्यापार समेत प्रभावित हुने अवस्थामा पुगेको बोहराको भनाइ छ। ‘सैपालमा च्याङ्ग्राको ओजन हेरेर १९ हजार रुपैयँदेखि २७ हजारसम्म खरिद गरेर ल्याएको छु’, बोहोराले भन्नुभयोे, ‘यो व्यापारमा कहिले नाफा त कहिले घाटा पनि हुन्छ।’ उहाँले पूरै गाउँपालिकाभरिका किसान लामो समयदेखि च्याङ्ग्रा पालन गर्दै आएको बताउनुभयो ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सैपालमा विकासका योजना अघि बढिरहेका छन्। स्थानीय सरकार आइसकेपछि सडक पुर्वाभारसित सैपाल जोडिने क्रममा रहेको उनको भनाइ छ। चीनको उरै नाका नजिक पर्ने सैपाल गाउँपालिकाका किसान भेडारच्याङ्ग्रा चराउन चीनको भूमिसम्म जाने गरेको बोहराको भनाइ छ। ‘चीनको सीमा क्षेत्रका गाउँका चिनियाँ पनि गाईवस्तु चराउन हाम्रोमा आउँछन्,’ उहाँले भन्नुभयोे, ‘हिमालमा भेडा÷च्याङ्ग्रा पालन गर्न सहज भने छैन।’

सैपालमा गहुँ, जौ र आलु फल्ने गरेको छ। स्थानीय बढीजसो भेडारच्याङ्ग्रा बिक्री गरेर परिवारको खर्च चलाउने गरेका छन्। ‘दशैँमा पोखरासितको च्याङ्ग्रा व्यापारले हाम्रो वर्षभरिको खर्च चल्छ’, बोहोरा भन्नुहुन्छ, ‘पोखराबाट पनि दशैँमा च्याङ्ग्रा माग गर्दै धेरै फोन आउँछन्।’ बझाङबाट पोखरा पुर्याएवापत बापत प्रतिट्रक ७० देखि ८० हजार रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको छ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले सैपालका किसानले वार्षिक डेढदेखि दुई करोड रुपैयाँका भेडारच्याङ्ग्राको व्यापार गर्ने गरेको बताउनुभयो । ‘पहिले स्थानीयस्तरमै भेडा खाद्यान्न ढुवानीमा बढी प्रयोग गरिन्थ्यो’, अध्यक्ष धामीले भन्नुभयोे, ‘गाउँपालिकाका ५० प्रतिशतले भेडारच्याङ्ग्रा पालनमा लागेका छन्।’ पाँच वडा रहेको साइपाल गाउँपालिकाको जनसङ्ख्या ३ हजार रहेको छ।

विगतमा भेडारच्याङ्ग्राको व्यापार सन्तोषजनक नरहे पनि २०७३ सालयता भने पोखरा र काठमाडौँ बिक्रीका लागि लैजान थालिएको अध्यक्ष धामीको भनाइ छ। उहाँले भेडारच्याङ्ग्रा पालनमा सक्रिय किसानलाई सङ्घ र प्रदेश सरकारबाट अनुदान दिने विषयमा कुराकानी भइरहेको बताउनुभयो । ‘यहाँ स्थानीयले जडीबुटीको व्यापार पनि छिमेकी मुलुक चीनसित गर्दै आएका छन्’, उहाँले भन्नुभयो, ‘चैनपुरबाट यहाँ पुग्न हिँडेर दुईदेखि तीन दिन लाग्छ।’
–रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू