अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

सिराहा-सप्तरीका सरकारी विद्यालयमा कम्प्युटर ल्याब बनाउन अमेरिकामा म्याराथन दौड

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते २०:०१ मा प्रकाशित

नेपालको तेह्रथुम जिल्लाको जलजलेमा जन्म भई हाल अमेरिकाको इन्डियानामा बस्दै आइरहेका Association of Nepalese in Midwest America (ANMA) का महासचिव डा.ओम दाहालले अक्टोबर १७ मा 2020 Detroit Marathon (Virtual) पुरा गरेका छन्। ANMA सँग सहकार्य गर्दै नेपालको प्रदेश नम्बर -२ सिराहा र सप्तरीमा पर्ने यी तीन विद्यालयहरू क्रमशः श्री जनता माध्यमिक सुखिपुर, श्री जनता चेथरु जितन माध्यमिक सुखिपुर र श्री राजेन्द्र देवकी माध्यमिक कोइलाडी तिलाठीमा एउटा/एउटा कम्प्युटर ल्याब बनाउने उद्देश्यका साथ डा दाहालले उक्त म्याराथन पुरा गरेका हुन।

विगत पाँच वर्ष देखि हरेक वर्ष म्याराथन दौडँदै आएका डा दाहालले हरेक वर्ष म्याराथन मार्फत संसारको विभिन्न ठाउँमा बसोबास गर्नुहुने साथीभाइ, शुभ चिन्तक र अन्य सहयोगी सङ्घ संस्थाहरूसँग सहकार्य गरी फन्ड सङ्कलन गरेर, सोही फन्ड मार्फत नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम पनि गर्दै आएका छन् । विगतका बर्सहरूमा क्रमशः १) २०१६ को Indianapolis Monumental Marathon मार्फत तेह्रथुममा एम्बुलेन्स, २) २०१७ को Chicago Marathon मार्फत नवलपरासीको यादव माध्यमिक विद्यालय मा छात्रामैत्री शौचालय, ३) २०१८ को Marine Corps Marathon , Washington DC मार्फत तेह्रथुमको श्री शङ्कर र श्री जन ज्योति माध्यमिक विद्यालयहरूमा कम्प्युटर ल्याब र ४) २०१९ को New York Marathon मार्फत जाजरकोट का ४ वटा विद्यालयहरू क्रमशः श्री शिव शङ्कर, श्री दीपेन्द्र, श्री भगवती र श्री शङ्कर भवन माध्यमिक विद्यालयहरूमा कम्प्युटर ल्याबको व्यवस्था भएको थियो।

Crown Point Indiana मा बिहान ६:३० बजे सुरु भई ११:०० बजे सकिएको भर्चुअल Marathon मा उक्त एरियामा रहनु हुने नेपाली श्री विक्रम श्रेष्ठ ले डा. दाहाल सँगसँगै २६. २ माइल साइकलमा यात्रा गरी दौडमा आइपर्न सक्ने बाधा व्यवधानको जिम्मा लिई सहयोग गर्नु भएको थियो। त्यसै गरी अन्य नेपालीहरू क्रमशः डा. सोहन खतिवडा, डा. गोकर्ण अर्याल, डा. बिर काफ्ले, प्रभा अर्याल र प्रिशा अर्यालले बाटोको बिच बिचमा बसी पानी तथा फलफूल को व्यवस्था गर्नु भएको थियो। ANMA का पूर्व Vice – President तथा वर्तमान ट्रस्टी डा. सोहन खतिवडा ले डा. दाहाल लाई 2020 Detroit Marathon को पदक पहिराई दिनु भएको थियो। म्याराथन समापन अवसरमा सो एरिया मा रहनु हुने नेपाली परिवारको उपस्थिति रहेको थियो।

२० वटा कम्प्युटर, १ प्रिन्टर, १ प्रोजेक्टर सहितका तीन वटा कम्प्युटर ल्याब निर्माण गर्ने लक्ष्य भएको यो अभियानको अनुमानित लागत नेपाली रुपया चौध लाख (अमेरिकन डलर अन्दाजी $ १२,५००) सङ्कलनको लागि डा. दाहाल ले GoFundMe प्रयोग गर्दै फन्ड जम्मा गर्न सुरु गरेका छन्। तलको GoFundMe लिङ्क मा गई यो अभियान मा सहयोग गर्न सकिने छ ।

https://www.gofundme.com/f/computer-labs-in-siraha-and-saptari-3-schools

प्रतिक्रिया