अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

पहिलोपल्ट भर्चुअल माध्यमबाट यस वर्षको मदन पुरस्कार र जगदम्बाश्री सम्मान प्रदान

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:१७ मा प्रकाशित

कोरोना भाइरसको संन्त्रासका कारण पहिलो पटक मदन पुरस्कार भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ ।मदन पुरस्कार गुठीले आयोजना गरेको मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान अर्पण समारोह अनलाइनमार्फत् प्रत्यक्ष प्रशारण गरी सम्पन्न गरिएको हो ।यस वर्षको मदन पुरस्कार महारानी उपन्यासका लागि उपन्यासकार चन्द्रप्रकाश बानियाँलाई प्रदान गरिएको छ ।

यसैगरी यस वर्षको जगदम्बाश्री सम्मानबाट भने वरिष्ठ संगीतकार शान्ति ठटाललाई सम्मानित गरियो । भौतिक रुपमा उपस्थित हुन नसकेका स्रष्टाहरुले अनलाइनमार्फत् नै आफ्ना मन्तव्यहरु राख्नुभएको थियो । कार्यक्रममा भारत नैनीतालबाट इतिहासबार शेखर पाठकले महाकाली नदी वारिपारीको सीमाको इतिहासबारे प्रवचन दिनुभएको थियो ।

जगदम्बाश्री सम्मानबाट सम्मानित वरिष्ठ संगीतकार शान्ति ठटालले भने दार्जिलिङबाट आफ्नो मन्तव्य दिनुभएको थियो ।महारानी उपन्यासमार्फत २०७६ सालको मदन पुरस्कारबाट पुरस्कृत लेखक चन्द्रप्रकाश बानियाँले पोखराबाट आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संगीतकार ठटालले संगीतको कुनै सीमा नहुने भन्दै नेपाली संगीतको सेवामा जीवन अर्पण गर्न पाउँदा गौरवान्वित भएको बताउनुभयो ।यसैगरी, मदन पुरस्कार विजेता उपन्यासकार बानियाँले इतिहासको एउटा घटनालाई लिएर आफूले लेखेको उपन्यास पुरस्कृत होला भनेर कल्पनै गरेको थिइँन भन्नुभयो ।प्राविधिक संयोजन गुठीको कार्यालय पाटनढोकाबाट गरिएको कार्यक्रममा आयोजकका तर्फबाट मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले आभार व्यक्त गर्नुभएको थियो ।

मदन पुरस्कार गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बाश्री सम्मान प्रदान गर्दै आएको छ । नेपाली साहित्यकाशमा मदन पुरस्कारलाई निकै महत्वका साथ लिने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू