अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

परदेशीको दसैं र बाडुल्की

कमला न्यौपाने २०७७ कार्तिक १ गते १४:५२ मा प्रकाशित

दिन र रात घुम्दै घुम्दै
पात्रोको अक्षरहरमा दसैं आएको रहेछ
अब मलाई
दसै भरि बडुल्की लाग्छ

बाडुल्की नलागोस् भनेर
अनेकन कोसिस गर्दा पनि म असफल हुन्छु

घर छाडेदेखि
हरेक वर्ष मलाई यो रोगले सताईरहन्छ

दसैँ मनाउन भनेर
यता पनि पूजा कोठामा जमरा रोप्छु
देवी थाप्छु र पूजा अर्चना गर्छु
टीका र आशिर्वाद लिन्छु र दिन्छु पनि
शुभकामनाका संदेश साटासाट गर्छु
आफन्तहरू सँगै बसेर भोज खान्छु
सकेसम्म उत्सव मनाउन खोज्छु
तर
बडुल्की नलागेको कुनै दसैँ भएन

मैले आफूलाई नयाँ लुगा किनेर हेरे
घर आँगन बढारेर सफा पारे
कमेरो र रातोमाटो नलगाए पनि रङ्गरोगन गरेँ
फूलबारीभरि सयपत्री फुलाएँ
परदेशमा पनि दसैँको माहोल सिर्जना गरेँ

तर कसैगरि रोकिएन
बडुल्की आईनै रह्यो

आखिर चाड भन्नु पनि
आफन्तको भूगोलभन्दा पर हुँदैन रहेछ

परदेशको दसैँमा
टिका र जमरा त हुन्छ
तर लगाईदिने बा-आमाका हात हुँदैनन्
शुभकामानाका अक्षरहरू त हुन्छन्
हिमालजस्तो अग्लो आशिर्वाद नहुने रहेछन्

परदेसको दसैँ त
नानीबाबुले खलेको भाँडाकुटीजस्तो
कृतिम र बनावटी
जो सहजै आउँछ र जान्छ पनि

किनकि याँहा आफ्नो पुर्खौली स्वाद छैन्
गाउ घरमाझैँ यता लिङ्गे पिङ्ग छैन्
दसैँको छुट्टै बजार, मेला र भीडभाड छैन
दुना र टपरी गासिएको छैन्
कुटीएको छैन् चिउरा
र पाकेको छैन् केराको घरि

घरदेशमाजस्तो
परदेशमा त दसैँ पनि एकै दिन आउन्न
जो ड्यूटी’अनुरुप कसैको अगाडिनै आउँछ
र कसैको अलि पछि मात्रै आउँछ

साँच्चै भन्ने हो भने
दसैँ त घरदेशमा पो आउँछ
परदेशमा त नाम मात्रको दसैँ आउँछ
र मलाई घरदेशको सम्झनाले
निरन्तर बाडुल्की मात्र लागीरहन्छ
किनकी यतिबेला परदेशमा छु म ।