अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

जुम्लाको चन्दननाथ मन्दिरमा ५२ हातका लिङ्गा ठड्याएर मनाइयो घटस्थापना

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:३१ मा प्रकाशित

जुम्लामा रहेको चन्दननाथ मन्दिरमा परम्परागत धार्मिक चलन अनुसार लिङ्गा ठड्याएर घटस्थापना मनाइएको छ । जुम्लाको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हात लामा लिङ्गा र ५२ हाते ध्वजा फेरिएका छन् । परम्परा अनुसार नै मन्दिरमा लिङ्गोहरु ठड्याई सकेपछि मात्रै जुम्लाबासीहरुले आ–आफ्नो घरमा घटस्थापना मनाउने चलन छ । लिंगा गाडेर फर्किएपछि मात्रै घरमा जमरा राख्ने चलन रहेको छ ।

कोरोना सङ्क्रमणका कारण भने गएको वर्षहरु भन्दा खासै मानिसहरुको भीड लागेन । स्थानीय प्रशासनको अनुरोधमा सुरक्षाकर्मी, मन्दिरका पुजारीहरु र समिति मानिसहरुले यस वर्ष मन्दिरमा लिङ्गा गाड्न पुगेका थिए ।अघिल्ला वर्षहरुमा भिडभाड हुने दिनमा यो वर्ष स्थानीय प्रशासनले कोरोना नफैलिन सुरक्षा अपनाएपछि सिमित मानिहरु रहेका छन् । नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले यस मन्दिरको लिंगा फेर्नमा योगदान गरेका छन् ।

हरेक वर्ष जिल्लाका सरकारी उच्च स्तरका व्यक्तिहरुको उपस्थितिमा स्थानीयहरु र सुरक्षाकर्मीहरुको सहयोगमा यी मन्दिरमा लिङ्गा गाड्ने गरिएको छ ।परापूर्वकाल देखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भ सहित ५ पुराना लिंगोहरु झिकेर नयाँ लिंगो खडा गर्ने गरेको स्थानीय खस संस्कृतिका जानकार रमानन्द आचार्यले बताउनुभयो । वि.सं १४९८ सालबाट यो मन्दिरमा लिंगो गाड्ने परम्परा रही आएको उहाँले जानकारी दिनुभयो ।

चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक ठूलो पूजा हुन्छ । त्यही अनुसार वर्षमा ५२ हप्ता हुने भएका कारण ५२ हाते ध्वजा सहित ५२ हाते लिंगा खडा गरी घटस्थापना गर्ने चलन रहिआएको छ । यसैगरी यहाँको सिञ्जा क्षेत्रको कनकासुन्दरी मन्दिरमा समेत विधिवत रुपमा परम्परागत पूजा गरिएको छ । समितिका सचिव ताराजंग हमालका अनुसार भौतिक दूरी कायम गर्दै पूजा गरी जमरा राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू