अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

ओखलढुंगामा पोखरीमा हाम फालेर २९ बाँदर मरे

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:३० मा प्रकाशित

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ स्थित सानीटारमा शुक्रबार र शनिबार गरेर २९ बाँदर पोखरीमा हाम फालेर मरेका छन्। शुक्रबार सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका थिए। स्थानीयले १२ वटा बाँदरको जिवितै उद्धार गरेका थिए। स्थानीय बासिन्दा र वन डिभिजन कार्यालयका कर्मचारीले उद्धार गरेका हुन्।

शनिबार दिउँसो फेरि ७ वटा बाँदर पोखरीमा हाम फालेर मरेका स्थानीय देवकुमार दाहालले जानकारी दिनुभयो । उहाँले बाँदर दैनिक पसेर मर्न थालेपछि पोखरीको पानी खोलेर रित्तो पारिएको बताउनुभएको छ । बाँदरले सधैं अन्नबाली खाएर दुःख दिने क्षेत्र मानिने सानीटारमा ठूलो संख्यामा बाँदरको मृत्यु भएको हो।

सिंचाइका लागि निर्माण गरिएको ६ फिट गहिरो सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले आएर पानी खाने गरेका थिए। बाँदरका बच्चा चकचके हुने भएकाले कुनै एक बच्चा उफ्रिने क्रममा खसेकाले निकाल्न अरु बाँदरसमेत पसेको हुनसक्ने वन डिभिजन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो ।
बाँदरको सामुहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत गरिएको छ। शनिबार समेत बाँदर मरेपछि वन डिभिजन कार्यालयका अधिकृतसहितको टोली घटनास्थल खटाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू