अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

सरकार गम्भीर भएन, दशैँपछि आन्दोलन गर्छाैँ – नेपाली कांग्रेस

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:०७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकोले दशैँलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताउनुभएको हो । कांग्रेसले गठन गरेको कोभिड–१९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दशैँलगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताउनुभएको हो ।

कोभिड–१९ सङ्क्रमणबाट नागरिकको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा सङ्क्रमण महामारीको रुपमा फैलिएको उहाँले बताउनुभयो । सरकार सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको पनि सभापति देउवाले बताउनुभयो । औषधिको व्यवस्था, क्वरेण्टीन, आइसोलेशन, अक्सिजन, भेन्टिलेटरलगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनै पनि काम जिम्मेवारीपूर्वक नगरेको बताउनुभयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड–१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताउनुभयो । उहाँले सरकारलाई जिम्मेवार बनेर काम गर्नसमेत आग्रह गर्नुभयो । कोभिड–१९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्धार र राहतको समुचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन उहाँले माग गर्नुभयो ।

कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा खटिएका व्यक्तिहरुसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड–१९ सङ्क्रमण समुदायस्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू