अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

कर्णाली प्रदेशका नेकपा पदाधिकारीलाई काठमाण्डौ बोलाइयो, मुख्यमन्त्री शाहीको पद तत्काललाई सुरक्षित

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:१६ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका मुख्य पदाधिकारी मुख्यमन्त्री शाही, नेता यमलाल कँडेललगायतलाई काठमाण्डौ बोलाएको छ । मङ्गलबार बालुवाटारमा छलफलपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई छलफलका लागि काठमाण्डौ बोलाउनुभएको हो ।

नेकपा पदाधिकारीहरुलाई दुई दिनभित्र काठमाण्डौ आउन भनिएको नेकपा स्रोतले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीका सांसदहरुले यसअघि अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको विवाद थप चुलिएको छ । मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । माधव नेपाल पक्षका तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति भएसँगै अविश्वासको प्रस्तावको पक्षमा रहेका सात जना सांसद पछि हटेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।

माधव नेपाल पक्षका नेताको साथ पाएपछि मुख्यमन्त्री शाहीले मङ्गलबार नै नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको थियो । नेपाली प्रमुख सचेत बनेलगत्तै सचेतकमा शाह नियुक्त हुनुभएको हो । अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुले मुख्यमन्त्री शाहीको काम कारबाही सन्तोषजनक नभएको आरोप लगाएका छन् । शाही पूर्वमाओवादीको तर्फबाट कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू