अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

असाधारण प्रतिभा भएका व्यक्तिहरूले अमेरिकामा स्पन्सर बिना नै ग्रीनकार्ड पाउन सक्दछन्

विनोद रोका, एटर्नी एट ल, न्युर्योक २०७७ असोज २६ गते १८:१५ मा प्रकाशित

अमेरिकालाई पद्दतीमा चल्ने देश, अवसरको मुभी, सपनाको संसार जस्ता नामबाट चिन्ने गरिन्छ। त्यसैले अमेरिकामा स्थायी रूपबाट बस्न आउनका लागि विश्वका सबै देशबाट मानिसहरू लालायित हृन्छन। अमेरिकी सरकारले अमेरिकामा प्रवेश गर्न चाहने विदेशीहरूका लागि विभिन्न प्रकारका भिसाको व्यवस्था गरेको छ। यसरी छृटयाइएका क्षेत्रहरूमा सामान्यतया पारिवारिक भिसा, कामदार भिसा, धार्मिक भिसा, डिभी चिठृा मार्फत आउन पाउने भिसा आदि पर्दछन्। जसका लागि अमेरिकामा रहेका स्पोन्सरहरुको आवश्यकता पर्दछ।

स्पन्सरले पनि पहिला अमेरिकामा त्यस्ता दक्ष कामदारहरू भेटिएनन् भनी श्रम विभागको स्वीकृति लिनु पर्दछ। श्रम विभागको अनुमति र अध्यागमन विभागले भिसाको लागि निवेदन स्वीकृत गरेपछि मात्र विदेशी दक्ष कामदारले अमेरिकाको डिपार्ट मेण्ट अफ स्टेट मार्फत उपलब्ध गराएको भिसा राजदूतावासमा उपस्थित भई ग्रिन कार्ड लिएर अमेरिकामा आउन पाउँछन्। यसरी प्रक्रिया पुरा गरी भिसा स्वीकृत भए पनि बर्सौसम्म पालो कुरेर बस्नु पर्दछ। किनकि विभिन्न वर्गमा वर्गीकरण गरिएका भिसाको सङ्ख्या अमेरिका आउन चाहने विदेशीको सङ्ख्या भन्दा धेरै कम हुने गर्दछ।

तर यस मध्ये विज्ञान, कला, शिक्षा, व्यापार र खेलकुद क्षेत्रमा विशिष्ट योग्यता भएका, आफ्नो कामको क्षेत्रमा ख्याति कमाएका र निरन्तर रूपबाट त्यसै क्षेत्रमा लागि रहेका विदेशीहरूलाई अमेरिकाको ग्रिन कार्ड पाउन स्पन्सरको आवश्यकता पर्दैन। अमेरिकी सरकारले यस्ता अद्वितीय प्रतिभा भएका व्यक्तिहरूको कदर गर्ने गरेको छ। अमेरिकामा आएर पनि त्यही क्षेत्रमा कार्यरत रहने र त्यसबाट अमेरिकालाई भविष्यमा योगदान पुग्ने देखिएमा यस्ता प्रतिभाशाली व्यक्तिलाई अमेरिकाको ग्रीनकार्ड वा स्थायी बसोबासको लागि अनुमति दिने गर्दछ।

यो भिसाको लागि स्पन्सरको आवश्यकता नपरेता पनि व्यक्तिले आफ्नो क्षेत्रको दक्षता र ख्यातिको आधारमा आफ्नो देशमा पनि सम्बन्धित विद्यामा नौलो आयाम थपेको कारणले ख्याति कमाएको। अनि अमेरिकी रोजगारदाताबाट पनि त्यो दक्षता र ख्यातिको कदर गर्दै त्यही दक्षताको क्षेत्रको कामको प्रस्ताव आएको प्रमाण वा जब अफर देखाउन सक्नु पर्दछ। साथै त्यही आफ्नो दक्षताको क्षेत्रमा अमेरिकामा आएर काम गर्ने आफ्नो योजना कस्तो छ र त्यो कामबाट अमेरिकालाई भविष्यमा के कस्ता उपलब्धि वा ख्याति प्राप्त हुन सक्दछ त्यो कुरा पनि स्पष्ट रूपमा देखाउन सक्नु पर्दछ। यो भिसा पहिलो श्रेणीमा पर्ने हुँदा प्राय सधैँ भरी नेपाल जस्ता देशका प्रतिभाशाली व्यक्तिका लागि उपलब्ध भई रहेको हुन्छ। यस श्रेणीको भिसा पाऊ भनी विदेशीले पेस गरेको आप्रवासको निवेदनमा तोकिएको सबुद प्रमाण मापदण्ड भित्र परेमा छिटोमा १४ दिन र बढीमा १ वर्ष भित्रमा स्वीकृत हुन सक्दछ।

विनोद रोका एण्ड एशोसियटस पिसिका तर्फबाट आफ्नो लामो समयको अनुभव र व्यवसायीक दक्षताको आधारमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त प्रतिभाशाली व्यक्तिहरूलाई अमेरिकी अध्यागमन सम्बन्धी कानुनले तोकेको प्रक्रिया र मापदण्ड अनुरूपको सेवा प्रयोग गरी नेपाल तथा अन्य देशका अभिनय क्षेत्रका कलाकार, गायक, सङ्गीतकार, नृत्यकार, फोटोग्राफर, पत्रकार, कार्यक्रम प्रस्तोता, चित्रकार, मार्सल आर्टसका खेलाडी, प्रशिक्षक, टेवलटेनिसका खेलाडी, र शिक्षा क्षेत्रका व्यक्तित्व आदिलाई यस श्रेणीको भिसा एवं ग्रीनकार्ड केहीलाई २ महिना भित्र र केहीका मुद्दाहरू अपिल तहबाट पनि जिताउन सफल भएका छौ। यद्यपि प्रत्येक मुद्दाको प्रकृति एकै प्रकारको नहुने हुँदा सबैमा एउटै किसिमको परिणाम आउँछ भन्न भने सकिन्न।

असाधारण दक्षताको आधारमा ख्याति कमाएका विदेशी व्यक्तिहरूका लागि छृटयाइएको यो पहिलो श्रेणीको भिसा पाउनका लागि पुर्‍याउनु पर्ने पूर्वाधार भनेको व्यक्तिले आफू आफ्नो कार्यक्षेत्रमा ख्यातिको शिखरमा पुगेको छु भनी प्रमाणित गर्नु पर्दछ। यसरी आफ्नो दक्षताको विद्यालाई मिसमास नगरी एउटै विद्याको कुनै एउटा कित्ता वा पाटोमा परिभाषा गर्न पर्दछ। जस्तै रचनाकार, सङ्गीतकार, एरेन्जर, वा गायक बेग्ला बेग्लै क्षत्र हुन। त्यस्तै अभिनय, निर्देशक। खेलाडी, प्रशिक्षक आदि। अतः आफ्नो ख्यातिको समाचार, पुरस्कार, जज, पारिश्रमिक, आदिको नम्बर पाउनका लागि कुनै एउटा विद्यालाई आधार मान्नु पर्दछ र आफ्ना कागज प्रमाणहरू सोही अनुसार छुटाएर मूल्याङ्कन गर्नु पर्दछ। यस अन्तर्गत सामान्यतया कानुन व्यवसायी भने पर्न सक्दैनन्। यो श्रेणीको ख्याति प्राप्त व्यक्ति भनेर प्रमाणित हुनुपर्ने प्रमाण भन्नाले,

१। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गरेको तथ्य वस्तुनिष्ठ आधारबाट देखिन्छ,
२। यस्तो तथ्यलाई प्रचुर मात्रामा कागज प्रमाणबाट मान्यता दिइएको देखिन्छ,
३। यस्तो ख्याति पाएको विदेशी व्यक्तिले अमेरिकामा आएपछि पनि त्यही क्षेत्रमा काम गर्छ र
४। यसरी गरिएको कामले अमेरिकालाई पनि भविष्यमा त्यस क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने हुन्छ ।

अमेरिकी अध्यागमन सम्बन्धी कानुनले असाधारण क्षमताका भएका कारणले आफ्नो क्षेत्रमा ख्याति कमाएको तथ्य प्रमाणित गर्नका लागि नोबेल पुरस्कार जस्ता अन्तर्राष्ट्रिय स्तरको पुरस्कार कसैले एक पटक मात्र आफ्नो क्षेत्रमा उल्लेखनीय काम गरे बापतमा पाएको रहेछ भने एक पटकको ख्याति नै पर्याप्त हुन्छ असाधारण क्षमताको कारणले ख्याति पाएको व्यक्ति भनी स्थापित गराउनका लागि ।  यदि कसैले यस्तो प्रकारका अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको पुरस्कार पाएको रहेनछ भने पनि तल लेखिएका दश वटा आधारहरू मध्ये कम्तीमा कुनै तीन वटा आधारहरू सङ्ख्या र मेरिटमा पनि आफूमा रहेको छ भनी प्रमाणित गर्न सकेको खण्डमा यो वर्गको भिसा पाउन सक्दछ।

१। पुरस्कार वा सम्मान। निवेदकले राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त भएका प्रमाणपत्र तथा पुरस्कार आफ्नो क्षेत्रमा विशिष्टता हासिल गरे बापतमा प्राप्त गरेको छ। सामान्यतया यो मापदण्ड पुरा गर्नका लागि निवेदकले आफूले प्राप्त गरेका पुरस्कार वा प्रमाण पत्र अंग्रेजीभाषामा छैन भने त्यसको रित पूर्वकको अनुवाद गरिएको फोटोकपी पेस गर्नु पर्दछ। र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त भएको कुरा लिखत प्रमाणबाट प्रमाणित हुनु पर्दछ।

यस्का लागि निवेदकले पुरस्कारको स्थापना भएको कारण, उद्देश्य, महत्त्व, यसको क्षेत्र, निर्णायकहरू मनोनीत गर्दा अपनाइने आधार, निर्णायकहरुले सहभागी मध्येबाट पुरस्कारका लागि प्रतियोगीहरू मध्येबाट उत्कृष्टताको छनौट गर्ने प्रक्रिया र सहभागी हुनको लागि उमेर, क्षेत्र र वर्ग आदिको प्रतिबन्ध नभएको तथ्य खुलाउन सक्नु पर्दछ। अर्थात् राष्ट्रव्यापी वा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका सो विद्याका ख्यातिप्राप्त प्रतिभाहरूले प्रतियोगिताको प्रतिस्पर्धामा सहभागी हुन पाएको हुनु पर्दछ। यस्का साथै अघिल्ला केही वर्षहरूमा क कसले यो राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको सम्मान वा पुरस्कार पाएका थिए त्यो पनि उल्लेख भएको हुनु राम्रो हुन्छ। अध्ययनको क्रममा पाएको शैक्षिक पुरस्कार प्राय यो क्षेणीमा पर्दैनन्।

२। सदस्यता। निवेदकले आफू सदस्य भएको संस्थामा सदस्यता पाउनका लागि सम्बन्धित क्षेत्रको विशेषज्ञहरूले ख्याति वा विशेषज्ञताको आधारमा विशेषज्ञहरूले छनोट गरेपछि मात्र पाइन्छ भन्ने देखाऊ सक्नु पर्दछ। कुनै पेसा वा व्यवसायमा संलग्न रहेकै कारणले पाउने पेसागत तथा व्यवसायीक सङ्गठनको सदस्यता वा पदले यो मापदण्ड पुरा गर्न सक्दैन।

३। निवेदकको बारेमा प्रकाशित सामाग्री। निवेदकको बारेमा पेसागत वा प्रमुख व्यापारिक वा अन्य राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका सञ्चार माध्यममा छापिएको अभिलेख। यसरी छापिएको कुरा निवेदकको ख्याति, योग्यता, विशेषता वा उपलब्धिको बारेमा हुनु पर्दछ।केवल निवेदकको नाम प्रसङ्गवश समूहमा वा कुनै सन्दर्भ लेखिएर मात्र हुँदैन। अनि निवेदकको बारेमा छापिएको समाचार, समीक्षा आदि राष्ट्रिय स्तरका, धेरैले पढ्ने, बढी विक्री हुने प्रमुख प्रकाशनको राष्ट्रिय स्तरका विषय छापिने पृष्ठमा छापिएको हुनु पर्दछ नकि स्थानीय वा क्षेत्रीय स्तरका गतिविधिहरू छापिने पृष्ठमा।साथै निवेदकको बारेमा छापिएका लेख, समाचार समीक्षा आदिमा छापिएको मिति, लेखकको नाम पनि खुल्नु पर्दछ जसले निवेदकको बारेमा लेख्ने वा बोल्ने व्यक्ति पनि त्यो क्षेत्रको ज्ञाता हो कि होइन? भन्ने बारेमा जानकारी हुन सकोस्।

निवेदकले अन्तर्वार्तामा आफैले आफ्नो बारेमा भनेको कुरा भन्दा त्यस क्षेत्रका समीक्षक वा विशेषज्ञले भनेको कुराको बढी महत्त्व हुन्छ। त्यसै गरी निवेदकले सँगै काम गरेका परिचित वा असम्बन्धित क्षेत्रका व्यक्तित्व वा कुनै हाकिम वा पदाधिकारीले भन्दा आफ्नो कामको आधारमा निष्पक्ष रूपमा मूल्याङ्कन गर्न सक्ने त्यही क्षेत्रका विशेषज्ञहरूबाट के कति कारणले गर्दा आफू अब्बल दर्जामा पुग्न सकेको हो भन्ने तथ्य वस्तुनिष्ठ आधारबाट देखिने खालका सिफारिसहरू संलग्न हुनु आवश्यक हुन्छ। यद्यपि विशेषज्ञको रायलाई मान्नै पर्छ भन्ने बाध्यता भने निर्णकर्तालाई हुँदैन।

४। निर्णयकर्ताको हैसियतबाट अरूको मूल्याङ्कन गरेको। निवेदकले आफ्नो वा आफ्नो विशेषज्ञताको क्षेत्रसँग सम्बन्धित भएको अरूको काम निर्णयकर्ताको हैसियतबाट एक्लै वा निर्णायक मण्डलको एक सदस्यको हैसियतबाट गरेको हुनु पर्दछ। त्यसमा निवेदकले माथि १ नम्बरमा उल्लेख गरिएको जस्तै पूर्वाधारहरू भएको देखाउन सक्नु पर्दछ। यसमा निवेदकले प्रतियोगिताको प्रकृति र उद्देश्य, निवेदकलाई निर्णायकमा मनोनीत गरिएको आधार, प्रतियोगितामा भाग लिन पाउने प्रतियोगीहरूको छनौट गरिने प्रक्रिया, निवेदकले निर्णायकको हैसियतबाट गर्नुपर्ने काम आदि तथ्य सप्रमाण प्रष्टयाऊनु पर्दछ।

५। योगदान। निवेदकले नवीन वैज्ञानिक, बौद्धिक, कलात्मक, खेल जगत्, वा व्यापार सँग सम्बन्धित क्षेत्रमा ठुलो उपलब्धि हुने किसिमको योगदान गरेको तथ्य प्रमाणित गरेको खण्डमा यो आधार पुरा हुन सक्दछ।

६। छापिएका बौद्धिकतायुक्त लेखहरू। निवेदकले लेखेको बौद्धिकता देखिने लेखहरू पेसागत वा प्रमुख व्यापारिक प्रकाशन वा अन्य प्रमुख सञ्चार माध्यममा प्रकाशित भएको छ भने यो आधार पुरा हुन सक्दछ। यो तथ्य प्रमाणित गर्नका लागि निवेदकले आफ्नो लेखको नाम, महत्त्व, लेख छापिनु अगाडीका छनौट गरिने प्रक्रिया, छापिएको प्रकाशनको नाम, मिति, छापिएको लेखले त्यस क्षेत्रमा पारेको प्रभाव अनि अरूले ती लेखहरूलाई आधिकारिक वा श्रोतको रूपमा आफ्नो लेख आदिमा उल्लेख गरेको दृष्टान्त आदि तथ्य पनि सप्रमाण पुष्टि गर्नु पर्दछ।

७। श्रृजना वा काम कला प्रदर्शनी वा सोकेजमा प्रदर्शन। निवेदकको श्रृजना वा काम कला प्रदर्शनी वा सोकेजमा प्रदर्शनमा राखिएको अभिलेख। यस अन्तर्गत चित्रकलाहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनीमा राखिएको चर्चा परिचर्चा प्रमुख सञ्चार माध्यममा छापिएको प्रमाणित हुनु पर्दछ।

८। संस्थामा महत्त्वपूर्ण भूमिका। निवेदकले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सङ्गठनको अग्रणी वा महत्त्वपूर्ण भूमिका खेलेको प्रमाण।

९।बढी तलब वा पारिश्रमिक पाउने गरेको। निवेदकले आफ्नो क्षेत्रमा काम गर्दा अरूको तुलनामा बढी तलब वा पारिश्रमिक पाउने गरेको छ भन्ने तथ्यको प्रमाण। यस अन्तर्गत काम लगाउने व्यक्ति, संस्था वा कुनै आधिकारिक निकायबाट आफूले ख्याति र दक्षताको आधारमा अरूले भन्दा बढी तलब वा पारिश्रमिक पाउने गरेको कति हो र अरूको भन्दा पाएको पारिश्रमिक कतिले फरक छ त्यो तुलनात्मक रूपबाट प्रस्टिएको हुनु राम्रो हुन्छ। लेखापरिक्षकले वा अन्य कुनै व्यक्तिले बिना आधार प्रमाणित गरिदिएको कागज पर्याप्त हुँदैन। कर कार्यालयमा कर तिरेको प्रमाण र त्यो क्षेत्रमा रहेका अन्य ख्याति प्राप्त व्यक्ति भन्दा तपाईँले बढी कर तिरेको पत्रको ओजन बढी हुन सक्दछ।

१०। व्यावसायिक सफलता। निवेदकले खेलेको फिल्म, नाटक, म्युजिक भिडियो, वा सिडी आदि सर्वाधिक सफल भई व्यावसायिक सफलता हासिल गरेको तथ्य प्रमाणित भएमा यो आधार पुरा भएको मानिन्छ। यस तथ्यको प्रमाण भनेको टिकट बिक्री भएको आँकडा र चलेको समयलाई तुलनात्मक रूपबाट प्रमाणित गर्नु पर्दछ। साथै सिडी, डिभिडी, सङ्गीत आदिको हकमा पनि उत्पादन भएको बर्सभरि बिक्री भएको सङ्ख्या र रकमलाई त्यसै वर्षमा बजारमा बिक्री वितरणमा आएका उत्पादनहरूको तुलनात्मक विवरण उल्लेख भएको हुनु पर्दछ।
११। वैकल्पिक प्रमाण। यदि निवेदकको पेसामा माथि लेखिएका आधारहरू सामान्यतया मिल्न सक्दैनन् भने माथि लेखिएका आधार सँग तुलना गर्न सकिने अरू प्रमाणहरू पनि पेस गर्न सकिन्छ।

निवेदकले प्राप्त गरेका प्रमाणपत्र, प्रकाशनमा आएका लेख, समीक्षा र समाचार आदि अङ्ग्रेजी भाषामा छैनन् भने तिनीहरूको अनुवाद नेपाली र अङ्ग्रेजी दुवै भाषामा दक्षता हासिल गरेको व्यक्तिले गरेको हो भनी नोटरी पब्लिकको अगाडी गएर अनुवाद गर्ने व्यक्तिले सही गरेको प्रमाणपत्र संलग्न भएमा मात्र अमेरिकी इमिग्रेसनले प्रमाणको रूपमा लिन्छ। जस्तो कि

I ———hereby certify that I have translated attached and/or the following document/s from Nepali into English as presented to me for translation. I am competent with both Nepali and English languages. It is accurate translation to the best of my knowledge and ability.

_________________
Name:
Sworn and subscribed to before me ID:
on this th day of —–, 20—-. Tel:
Notary Public

यो अमेरिकी अध्यागमन सम्बन्धी कानुनले तोकेको कानुनी प्रावधान हो। यदि यसरी रित नपुराई पेस भएको अनुवाद रहेछ भने त्यो प्रमाणको लागि ग्राह्य हुँदैन। हाल नेपालबाट आउने अनुवादहरू प्राय रित नपुगी आउने गरेको हुँदा अध्यागमन अदालत र अध्यागमन कार्यालयले अस्वीकार गरेको अनुभव मैले गरेको छु। र मैले यो विषयमा नेपाल सरकारका केही अधिकारीहरू सँग पनि कुरा गरेको थिए तथापि यो सामान्य कुरा सम्बन्धित ठाउँमा पुग्न सकेको छैन/ अहिले पनि नेपालबाट व्यक्तिहरूले पैसा तिरेर नोटरी पब्लिकबाट त्यसरी नै अनुवाद गरिएका कागजहरू लिएर आउने गरेको पाइन्छ। धेरै अवस्थामा त्यस्ता कागजले मान्यता नपाएपछि पुन अमेरिकामा अर्को अनुवाद गराउँदा दोहोरो खर्च र काममा ढिलाइ हुने गरेको पाइन्छ।त्यस्तै कतिपय अनुवादहरू अङ्ग्रेजीमा अनुवाद हुँदा नेपालीमा भनिएको कुरा नखुलेको पनि भेटिएको छ। त्यसैले आफ्ना नेपालीमा भएका लिखतहरू अङ्ग्रेजीमा अनुवाद गर्दा भन्न खोजिएको अर्थ निस्कन्छ कि निस्कँदैन भनी राम्ररी हेर्नु पर्दछ।

तपाईँलाई उदाहरण दिनु पर्दा मलाई यो प्रसङ्ग याद आउँछ। अध्यागमन अदालतमा कुनै एक जना दोभासेले नेपालीको अनुवाद अङ्ग्रेजीमा गर्दा न्यायाधिशले आश्चर्य मानेको प्रसङ्ग स्मरण हुन्छ। एक जना व्यक्तिलाई न्यायाधिशले अङ्ग्रेजीमा सोधे “तपाई नेपालमा के काम गर्नु हुन्थ्यो? जवाफमा उनले भने “म फोहोर मैला विकाश समितिमा अधिकृतको हैसियतले काम गर्दथे।“ त्यसको अनुवाद दोभासेले यसरी गरे “आई वाज वर्किक एज ए डर्टि वमन डिभल्पमेन्ट अफिसर। “दोभासेको दिएको अर्थ सुनेपछि न्यायाधिशले छक्क पर्दै सोधे “हवाट डिड यु से…”,।

====================
प्रस्तुत लेख नेपाली पाठकहरूलाई सामान्य जानकारी गराउने उद्देश्यले मात्र तयार पारिएको हो। यो क्षेणीको भिसाको निवेदन तयार गर्दा त्यस विषयमा धेरै अनुसन्धान र अध्ययन गरी निवेदकको क्षेत्र र विषय वस्तुको प्रकृति अनुसार कारबाही अगाडी बढाउनु पर्दछ। तसर्थ अध्यागमन कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा एटर्नीको सल्लाह लिई गर्नु उचित हुन्छ।

(विनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोस्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाँको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरूलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेन्टी भने हाम्रो हातमा छैन। यहाँलाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अध्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।

==============

सम्बन्धित सामग्रीहरू