अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

न्यूह्यामसर नेपाली खुल्ला टेनिसको उपाधि भट्ट र हुमागाईलाई

बिआरटीनेपाल २०७७ असोज २६ गते १४:५० मा प्रकाशित

न्यूह्याम्पसर, न्यूह्याम्पसर राज्यमा स्थापित एक मात्र नेपालीभाषीहरुको छात्रा सङ्गठन न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०२० (पुरुष सिंगल्स) को उपाधि सरोज भट्टले जितेका छन् । शनिवार सम्पन्न फाइनल खेलमा किरण हुमागाईलाई ६–४, ७–५, ६–४ को सेटमा पराजित गर्दै भट्टले सिङ्गल्सतर्फको उपाधि हासिल गरेका हुन् । यस्तै प्रतियोगिताको डबल्स संस्करणमा मनिश हुमागाँई र किरण हुमागाँईको जोडी विजयी भएको छ । उनीहरूले फाइनलमा रविन थापा र दीपक अमात्यको जोडीलाई ६–३, ५–७ र ६–४ को अन्तरमा पराजित गरेका हुन् ।

तीन सातासम्म चलेको प्रतियोगीको सिंगल्स तर्फ १८ जना र डबल्स तर्फ नौ जोडी खेलाडीहरूले भाग लिएका थिए । राज्यको म्याम्चेष्टर स्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताका विजयी एवं सहभागी खेलाडीलाई फाइनल खेलपछि आयोजित समारोहमा न्यूह्याम्पसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले ट्रफी एवं प्रमाणपत्र वितरण गरे । यसै गरी प्रतियोगिता अवधिभर एम्पायरको भूमिका निर्वाह गर्ने वीर शाह, विनीत शाह, गोविन्द गुरुङ र प्रतियोगिता संयोजक दिनेश गुरुङलाई प्रमाणपत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष गुरुङले खेल मार्फत राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुमा भाइचारा अभिवृद्धि गर्ने समाजको अभियानबारे चर्चा गरेका थिए । ‘हामीले हरेक वर्ष फुटबल, टेनिस लगायतका खेलकुद प्रतियोगिता आयोजना गरिरहेका छौँ, उनले भने ‘यसले न्यूह्याम्पसर मात्र नभई अन्य छिमेकी राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुबीच पनि आत्मीयता र भाइचारा बढाइ रहेको अनुभव गरेका छौँ ।’ टेनिस प्रतियोगितामा बर्सेनि बढ्दो सहभागिताले नेपालीहरूले आफ्नो समुदायमा मात्र नभई अरू खुला प्रतिस्पर्धामा पनि छिटै आफ्नो पहिचान स्थापित गर्ने विश्वास आफूले लिएको उनको भनाइ छ ।

प्रतियोगितामा राज्यका विभिन्न ठाउँहरूमा बसोबास गर्ने विभिन्न उमेर समूहका पुरुषहरूको सहभागिता रहेको थियो । ‘सहभागीहरुको सङ्ख्या बर्सेनि बढ्दो छ’ विगत केही वर्षदेखि खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएका समाजका सदस्य दिनेश गुरुङले भने ‘नयाँ पीढीका भाइबहिनीहरूले पनि टेनिस खेलप्रति उत्साहजन सहभागिता जनाउँदै आएका छन् ।’

यसबर्ष महामारीको बिचमा प्रतियोगिता आयोजना भएकाले भौतिक दूरीलगायत सुरक्षाका सबै उपायहरूलाई विशेष ध्यान दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू