अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

यी कस्ता मान्छे होलान् ?

युवराज मैनाली २०७७ असोज २४ गते १०:४६ मा प्रकाशित

घाउ देखायो
नुन-चुक छर्छन्
व्यथा सुनायो
काखी बजार्छन्
गुन ग~यो
घात गर्छन्
दूध पियायो
विष ओकल्छन्
यी कस्ता मान्छे होलान् ?

रिनका कुरा सुनाए
घिन मान्छन्
घृणा गर्छन्
धनका कुरा सुनाए
रिस गर्छन्
हात लगाउने दाउ हेर्छन्
प्रगति त देख्नै सक्दैनन्
औडाहाले जल्छन्
जसलाई माथि पु~यायो
तिनै तल खसाल्न बल गर्छन्
यी कस्ता मान्छे होलान् ?

गास दियो
गाँसै खोस्छन्
बास दियो
बासै उखेल्छन्
जसलाई खुट्टा टेकायो
तिनै खुट्टा तान्छन्
जसलाई आँखा देखायो
आँखामा तिनै तीर हान्छन्
जसलाई भिरबाट जोगायो
तिनै भिरबाट धकेल्छन्
यी कस्ता मान्छे होलान् ?

काँधमा बोकेकाहरू
काँधमै लात्ती हान्छन्
पिठ्युँमा बोकेकाहरू
पिठ्युँमै भाला रोप्छन्
काखमा लिएकाहरू
काखै दुर्गन्धित पार्छन्
टाउकामा चढाएकाहरू
टाउकै फुटाउन अघि सर्छन्
यी कस्ता मान्छे होलान् ?

नौनी बनेर आउँछन्
आगो बनेर जान्छन्
भोकाए नजिक आउँछन्
अघाएपछि टाढा भाग्छन्
औँला दिन खोज्यो
हातै निल्न खोज्छन्
जसलाई खोला ता~यो
तिनै भेलमा धकेल्छन्
मुखले राम ! राम ! जप्छन्
बगलीमा छुरा बोक्छन्
विश्वास जसको ग~यो
धोका दिनेमा तिनै पहिला हुन्छन्
यी कस्ता मान्छे होलान् ?

मित्र बन्दै जासुसी गरिरहने
आफन्त भन्दै खाडल खनिरहने
आचार फलाकेर
अनाचारमा लिप्त रहने
लोभैमात्र गरिरहने
पेटैमात्र भरिरहने
मै हुँ मात्र भनिरहने
लुटेको धन लुकेर गनिरहने
यी कस्ता मान्छे होलान् ?

अनुहारमात्रै हेर्दा त
कुनै पनि
स्याल र हुँडारजस्ता लाग्दैनन्
चितुवा र ब्बाँसाजस्ता पनि लाग्दैनन्
बिच्छी,जुका र सर्पजस्ता पनि लाग्दैनन्
जुम्रा, उडुस र उपियाँजस्ता पनि लाग्दैनन्
चिल र गिद्धजस्ता पनि देखिँदैनन्
तर स्वभाव र व्यवहार भने
तिनकै मात्र बोकिरहने
अनि
अर्काकै रगत र पसिना चुसेर
अघाइरहन चाहने
यी कस्ता मान्छे होलान् ?
*
धुम्बाराही , काठमाडौँ ।