अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

नेपालमा एकैदिनमा अहिलेसम्मकै सर्वाधिक ५ हजार ८ जनामा कोरोना संक्रमण, थप १४ जनाको मृत्यु, मृतकको संख्या ६ सय १४ पुग्यो

बिआरटीनेपाल २०७७ असोज २४ गते ७:१० मा प्रकाशित

नेपालमा शनिवार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १ हजार ८ सय २३ महिला र ३ हजार १ सय ८५ पुरुष गरी ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा पुष्टि भएको हालसम्मकै सर्वाधिक संख्या हो ।

थपिएका संक्रमितमा काठमाडौंका मात्रै २ हजार १ सय जना रहेका छन् । ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २ सय ३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १९ हजार ३ सय २० जनाको नमुनाको ‘पीसीआर’ परीक्षण गरिएकोमा ६८ जिल्लामा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा एकैदिनमा गरिएको पीसीआर परीक्षणको सो संख्या पनि हालसम्मकै सबैभन्दा बढी हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । मुलुकमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण २ महिला र १२ पुरुष गरी १४ जनाको मृत्यु पुष्टि भएको शनिबार स्वास्थ्य मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । मृत्यु हुनेमा काठमाडौंका ६८ वर्षीया महिला तथा ४८ र ९० वर्षीय पुरुष गरी तीनजना, ललितपुरका ४३ र ४९ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष, सुनसरीका ४५ वर्षीय पुरुष, मोरङका २० र ७२ वर्षीय पुरुष, सर्लाहीका ७१ वर्षीय पुरुष, मकवानपुरका ७७ वर्षीय पुरुष, धादिङकी ३१ वर्षीया महिला, नवलपरासीपूर्वका ३६ वर्षीय पुरुष र रुपन्देहीका ५७ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार २ सय २९ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ३ सय २१ जना ‘आईसीयू’ र ७७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू