अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

नेपालमा कोरोना संक्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:२७ मा प्रकाशित

सरकारले कोरोना (कोभिड– १९) को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबारदेखि सातवटै प्रदेशमा खटाएको छ ।काठमाडौंमा तालीमपश्चात टोलीलाई शुक्रबार प्रदेश खटाइएको हो ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको बताउनुभयो । अध्ययनबाट नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उहाँले जानकारी दिनुभयो । एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ ।

टोली शुक्रबार सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालीमपश्चात आइतबारबाट रगतको नमूना सङ्कलन गर्नेछ । नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ ।गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरमै रहेका अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो ।

सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हुन्छ तर नेपालमा कुनै खासखास ठाउँमा (क्लस्टर) मा सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ । महाशाखाले एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा ६ समूह परिचालन गरेको छ । ती समूहले बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर तथा समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत सङ्कलनबाट एन्टिबडी परीक्षण गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू