अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

“विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौं ”- प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:२८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेड (१.५ डीसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैंभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताउनुभएको छ । न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७५औं महासभाका पाश्र्वमा जलवायु परिवर्तनका अकल्पनीय नकारात्मक प्रभाव समूल नष्ट हुनुपर्ने अवधारणाका साथ बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा आयोजित ‘जलवायु संवेदनशील नेतृत्व मञ्च’ (सीभीएफ)को बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्नेक्रममा उहाँले राजनीतिक सिमानाभन्दा धेरैपरसम्म जलवायु परिवर्तनको प्रभाव परेको वास्तविकता औंल्याउँदै जलवायु परिवर्तनका दुष्प्रभावबाट विश्वलाई जोगाउने कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुुभयो ।

जलवायु परिवर्तनका कारण समुद्री सतहको वृद्धि, हिमनदीको बढ्दो पग्लँदोक्रम र विश्व तापक्रममा भइरहेको बढोत्तरीले मानव अस्तित्व नै संकटमा परेको प्रधानमन्त्री ओलीको भनाई थियो । पेरिस सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयन, जलवायुसम्बन्धी सुदृढ प्रतिकार्य तथा जलवायु वित्तको सहज पहुँचका लागि आह्वान गर्दै उहाँले दृष्टान्त बनेर अरुलाई जलवायु प्रतिकार्यका कार्यक्रममा अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।

उच्च प्रदूषकहरुको मौनतातर्फ लक्षित गर्दै उहाँले राजनीतिकभन्दा जलवायु परिवर्तनका विषयलाई उच्च प्राथमिकता दिएर अघि बढ्नु आगामी वर्षका लागि तयारी गरिएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २६)का सन्दर्भमा सामयिक हुने उहाँले बताउनुभयो । जलवायु परिवर्तनका दृष्टिले अतिसंवेदनशील राष्ट्रहरुलाई जलवायु परिवर्तनका प्रभाव घटाउने प्रतिकार्यका लागि वित्तीय स्रोत, वहन गर्न सकिने प्रविधि, कार्यान्वयनसम्भव अनुकूलन र गाम्भीर्य न्यून गर्ने कार्यक्रममा पहुँच वृद्धि अपरिहार्य भएको बताउँदै प्रधानमन्त्रीले कोभिड–१९ को महामारीले मानवजीवन र अर्थतन्त्रलाई तहसनहस पारेका बेला हरित एवम् दिगो स्वस्थ अर्थतन्त्रको प्रवर्द्धनका निम्ति राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा ऐक्यबद्ध भएर साझा योजनाका साथ अघि बढ्नुपर्ने ठहर गर्नुभएको छ ।

कार्बन उत्सर्जन घटाउने राष्ट्रिय योगदानमा नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई छ । सीभीएफको अध्यक्षका रुपमा बंगलादेशले उक्त बैठक आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू