अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

अमेरिकामा चुनावः उपराष्ट्रपतिका उम्मेदवारबिच टेलिभिजन बहस, केन्द्रमा कोरोना महामारी

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:२३ मा प्रकाशित

अमेरिकाका उपराष्ट्रपति माइक पेन्स र डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसबिच टेलिभिजन बहसमा कोरोना भाइरसको महामारीलाई लिएर आक्रामक तर्कवितर्क भएको छ ।नेपाली समय अनुसार बिहीबार बिहान भएको उपराष्ट्रपति उम्मेदवारबिचको टेलिभिजन बहसमा कोरोना भाइरसको महामारी र त्यसको नियन्त्रणका लागि भएको प्रयास, कर तथा जलवायु परिवर्तनसहितका मुद्दा केन्द्रित भएको छ ।

ह्यारिसले अमेरिकाको इतिहासमा सबैभन्दा असफल राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन रहेको आरोप लगाउनुभयो । माइक पेन्सले डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडेनको महामारी नियन्त्रण योजना अहिले आफूहरुले लागु गरेको योजनाकै ‘चोरी’ रहेको आरोप लगाउनुभयो ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा चुनाव हुँदैछ । पछिल्ला मत सर्वेक्षणहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा जो बाइडेन दोहोरो अंकले अघि रहनुभएको छ । सल्ट लेक सिटीमा रहेको युनिभर्सिटी अफ युटमा भएको ९० मिनेटको टेलिभिजन बहसमा चुनाव पूर्व वितरण हुने खोप ‘तपाईँ लगाउनु हुन्छ कि हुँदैन?’ भनेर ह्यारिसलाई सोधिएको थियो ।

५५ वर्षकी क्यालिफोर्निया सिनेटर ह्यारिसले स्वास्थ्य विज्ञको स्वीकृति बिना ट्रम्पले भनेको वा सुझाएको खोप आफूले नलाउने जवाफ दिनुभयो । ट्रम्पका बफादार पेन्सले सर्वसाधारणको जीवनमाथि राजनीति गरेको आरोप ह्यारिसलाई लगाउनुभएको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु लागु गरि बहस भएको हो । दुई उम्मेदवारको बिचमा सिसाको बार लगाइएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू