अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

यस बर्ष लोकसेवा आयोगका परीक्षार्थीलाई नयाँ नियम लागु हुने

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:२० मा प्रकाशित

सरकारले लोकसेवा आयोगद्वारा हुने सबैखाले परीक्षा सञ्चालन अनुमति दिएसँगै आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६/७७ का परीक्षा निरन्तरता र चालू आर्थिक वर्ष २०७७/७८ को नयाँ कार्यतालिकासमेत सार्वजनिक गरेको हो ।

आयोगले परीक्षा सञ्चालन मापदण्ड तयार पारेको जनाएको छ । ‘संक्रमणको विशेष अवस्थामा परीक्षासम्बन्धी मापदण्ड २०७७’ तयार पार्दै परीक्षा सञ्चालन गरिने भएको हो । मापदण्डअनुसार पहिलो चरणमा यसअघि स्थगित सहसचिवस्तरको परीक्षा हुने छ । आयोगले गत वर्ष स्थगित खरिदार, नासु तथा अधिकृतसहितका परीक्षा र नयाँ कार्यतालिका क्रमिक रूपमा प्रकाशन गरिरहेको छ ।

आयोगले तयार पारेको मापदण्डअनुसार परीक्षार्थीलाई कोरोना परीक्षण रिपोर्ट आवश्यक पर्ने छैन । परीक्षार्थी स्वयंले आफूलाई संक्रमण भए नभएको घोषणा गर्नुपर्नेछ ।परीक्षा केन्द्र निर्धारण, व्यवस्थापनमा खटिने कर्मचारी र परीक्षार्थीका लागि निश्चित मापदण्ड तयार पारिएको छ ।मापदण्डअनुसार एकसय परीक्षार्थीका लागि एक परीक्षा केन्द्र रहनेछ भने एक कक्षा कोठामा २५ भन्दा बढी परीक्षार्थी रहने छैनन् ।

परीक्षा सञ्चालन गर्दा सरकारबाट जारी संक्रामक रोग नियन्त्रण तथा रोकथामसँग सम्बन्धित सबै मापदण्ड पालना अनिवार्य गरिएको छ ।परीक्षास्थलमा आउने सबैले अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्नेछ ।यसक्रममा दूरी कायम गरी कर्मचारीले मास्क खोल्न लगाई उम्मेदवार पहिचान गरेरमात्र परीक्षा हलमा जान अनुमति दिने छन् ।प्रश्नपत्र खोल्दा, उत्तरपुस्तिका वितरण गर्दा, हाजिरी गराउँदा, प्रश्नपत्र वितरण, उत्तरपुस्तिका चेकजाँच गर्दा, थप उत्तरपुस्तिका वितरण गर्दा, उत्तरपुस्तिका बुझिलिँदासमेत उच्चसतर्कता कायम गर्नुपर्नेछ ।

आयोगबाट सञ्चालन हुने प्रयोगात्मकरसीप परीक्षणसम्बन्धी परीक्षा, अन्तर्वार्ता, सामूहिक छलफल, प्रस्तुतिकरणलगायत कार्य सञ्चालन गर्दासमेत स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा मापदण्ड पालना गर्नुपर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू