अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

नवजात शिशु मृत्युदर घटाउन सञ्चारकर्मीले सचेतना जगाउनु पर्ने

लीलानाथ घिमिरे २०७७ असोज २१ गते १०:३० मा प्रकाशित

नवजात शिशु मृत्युदर कम गर्न सञ्चारकर्मीको समेत भूमिका महत्त्वपूर्ण रहने सरोकारवालाले बताएका छन् । गोल्डेन कम्युनिटी संस्थाले सोमवार कोसी अञ्चल अस्पतालमा पत्रकारका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा पूर्व स्वास्थ्य सचिव सुशीलसाथ प्याकुरेलले हरेक जनताको स्वास्थ्यलाई संविधानले मौलिक हकमा ग्यारेन्टी गरेका कारण यसप्रति सबै सजग हुनु पर्ने धारणा राख्नु भयो । उहाँले गर्भवती महिलालाई ढिलो गरी अस्पताल पुर्याउनु, यातायातको सहज पहुँच नहुनु, अस्पताल पुगेपछि पनि सही समयमा सही उपचार नपाउँदा, वाल विवाह र कुपोषण जस्ता कारणले मृत्युदर वढि भएको बताउनु भयो । उहाँले यस्ता कुरालाई सञ्चारमाध्यमले बाहिर ल्याउँदा समुदायमा चेतना फौलने बताउनु भयो ।

उक्त कार्यक्रममा कोसी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मीनारायण यादवले राष्ट्रिय तथ्याङ्कको तुलनामा कोसी अञ्चल अस्पतालमा शिशु मृत्युदर कम रहेको बताउनु भयो । उहाँले एक वर्षको अवधिमा अस्पतालमा ८ हजार २ सय ५२ जनालाई सुत्केरी गराउन ल्याइएको जानकारी दिनु भयो । त्यसमध्ये नवजात शिशु ७ जना मात्रको मृत्यु भएको उहाँले बताउनु भयो । तर पेरनटेल डेथ भने १०१ जनाको भएको उहाँले बताउनु भयो । यसै गरी २ जना आमाको सुत्केरी गराई सकेपछि मृत्यु भएको थियो ।

कार्यक्रममाथि प्रकाश पार्दै गोल्डेन कम्युनिटीकी सञ्चार विज्ञ सिर्जना शर्माले नवजात शिशुको हालको मृत्युदर कम गर्न सरकारले अघि सारेको लक्ष्यलाई पूरा गर्न गोल्डेन कम्युनिटीले अस्पतालहरूका प्रसूति गृहमा काम गर्ने स्वास्थ्यकर्मीलाई दक्ष बनाउँदै आधुनिक उपकरण समेत प्रदान गर्ने गरेको बताउनु भयो । उहाँले समुदायमा सचेतनाको पाटोलाई समेत ध्यानमा राखेर पत्रकारहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको बताउनु भयो ।
नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मन्छन् । त्यसमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन् भने करिब १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्छन् । नेपाल सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्य अघि सारेको छ । यो लक्ष्य प्राप्तिमा हातेमालो गर्दै गोल्डेन कम्युनिटीले यो सुधार कार्यक्रम अघि सारेको हो । यो कार्यक्रम देशभरका ८ वटा अस्पतालमा लागू गरिएको छ । कार्यक्रमअन्तर्गत गोल्डेन कम्युनिटीले प्रसूति समयको जटिलतालाई गुणस्तरीय व्यवस्थापन गर्न सहयोग गर्दै आएको छ ।

यसै कार्यक्रम अन्तर्गत प्रदेश नम्बर १ को कोसी अञ्चल अस्पतालका प्रसूति विभागका स्वास्थ्यकर्मीहरूलाई तालिम दिएको छ । कोसी अञ्चल अस्पतालका ३८ जना स्वास्थ्यकर्मीहरुले उक्त तालिम पाउनेछन् । पहिलो चरणमा १८ जनालाई चार दिनको तालिम दिइएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल र पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले पत्रकारहरूलाई प्रदान गरिने यस्ता अभिमुखीकरण कार्यक्रमले सबै पक्षलाई फाइदा पुग्ने बताउनु भयो । कार्यक्रममा मोरङका १५ जनाभन्दा बढी पत्रकारहरू सहभागी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू