अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 12:55

नेपालमा कोरोनाका संक्रमित बढेसँगै अस्पतालमा बेडको अभाव सुरु

बिआरटीनेपाल २०७७ असोज २१ गते ६:५५ मा प्रकाशित

सरकारले कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेडको अभाव हुन थालेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले संक्रमितले पायक पर्ने अस्पतालमा शैया पाउन छाडेको र काठमाण्डौ उपत्यकाको भार अत्यधिक भएको बताउनुभयो ।

केही दिन यही दरमा सङ्क्रमित बढेमा उपत्यकाको भार थाम्न नसकिने भन्दै उहाँले स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । कोरोना जनस्वास्थ्यको ठूलो समस्या रहेको भन्दै उहाँले सबैको पहलबाट मात्र यो सङ्कट टार्न सकिने बताउनुभयो । अहिले किनमेल गर्नेको भिड हेर्दा मानिसले कोरोना बिर्सिएको जस्तो लागेको भन्दै प्रवक्ता डा. गौतमले चाडपर्व खल्लो नबनाउन आफू पनि संक्रमण हुनबाट बच्न र परिवारलाई पनि बचाउन सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो ।

यस्तै मन्त्रालयले सामान्य ज्वरो तथा रुघाखोकी आउँदा अस्पताल नजान भनेको छ । अस्पतालमा उपचार गर्ने ठाउँ तथा जनशक्तिको अभाव तथा अस्पताल जाँदा भिडभाड भएर त्यहाँबाट कोरोना सर्न सक्ने भन्दै मन्त्रालयले श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहोस हुने सङ्केत देखिएमा र पिसाब नआएमा मात्र अस्पताल जान आग्रह गरेको छ ।

सरकारले यसअघि २५ हजार सक्रिय संक्रमित भएमा सरकारले धान्न नसक्ने भन्दै लकडाउन गर्नुपर्ने बताएको थियो । बुधबार सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू