अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

मजदुरमा कोरोना देखिएपछि तातोपानी नाका खुलेको एक दिनमै बन्द

बिआरटीनेपाल २०७७ असोज २० गते ७:४० मा प्रकाशित

तीन महिनापछि खुलेको तातोपानी नाका एक दिनपछि फेरि बन्द भएको छ । आइतबार सामान लोड अनलोड गरेर सोमबार सामग्री नेपाल भित्रिएपछि नाका फेरि बन्द भएको हो । भन्सार सामान लोडरअनलोड गर्ने मजदुरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको हो । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत रामचन्द्र ढकालका अनुसार नाका खुल्दा भित्रिएका १२ कन्टेनरका सामग्रीको भन्सार भएको छैन । ती सामग्रीको कागजात मिल्ने क्रम बाँकी छ ।

चीनबाट आएका सामग्री मितेरी पुलपारि नै रहेका छन् । लोडरअनलोड गर्नेलाई कोरोना पुष्टि भएकै कारण सामग्री भुइँमै अलपत्र छाडिएको हो । नेपालमा परीक्षण गर्दा तीनैजना मजदुरको कोरोना रिपोर्ट निगेटिभ आएको थियो । तर चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएपछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको हो । खासा र न्यालममा रहेका डेढ सय कन्टेनर सामान दशैँअघि काठमाण्डौ ल्याउने योजनाअनुसार दुवै देशको सहमतिमा नाका खुलेको हो । सीमाबाट कोरोना फैलिन सक्ने भन्दै जाङ्मु प्रशासनले चीनतर्फ मितेरीपुलमा ल्याइएको सामान अर्को निर्णय नभएसम्म नेपालतर्फ नपठाउने भएको छ ।

गएको असार २५ गते बाह्रबिसेदेखि तातोपानीसम्मका सडक खण्ड कटान गर्ने गरी आएको बाढी पहिरोपछि बन्द रहेको तातोपानी नाका फेरि सञ्चालनमा ल्याइएको थियो । भोटेकोशी नदीमा आएको बाढी र पहिरोले क्षतिग्रस्त भएको सडक निर्माण भए पनि तिब्बतको ‘क्यानोन कु’ ताल फुट्न सक्ने सम्भावना रहेकै कारण बन्द थियो ।

तर खुलेको एकदिनमै फेरि नाका बन्द हुँदा व्यवसायी मर्कामा परेका छन् । गएको असोज १३ गते सिन्धुपाल्चोकका उच्च सुरक्षा अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुरु गर्ने सहमति भएपछि नेपाल–चीनबीचको प्रमुख भन्सार नाका खुलाइएको थियो । कोरोना सङ्क्रमण फैलन सक्ने भएकोले दुवैतर्फबाट सजगता अपनाउने विषयमा छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

चीनतर्फ कोरोना परीक्षण गर्दा तीन मजदुरको रिपोर्ट पोजेटिभ आएको भन्दै आयात मोडालिटी परिवर्तन गर्नुपर्ने जानकारी आएको उहाँले बताउनुभयो । नजिकिँदो दशैँ प्रभावित नहोस् भनेर चिनियाँ अधिकारीसँग आयातको नयाँ मोडालिटीबारे छलफल जारी रहेको सीडीओ ढकालले जानकारी दिनुभयो ।

सुख्खा बन्दरगाह लार्चाको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले नयाँ मोडालिटीबारे छलफल भइरहेको बताउनुभयो । नेपालमा नेगेटिभ रिपोर्ट आएको दुई दिनपछि खासा क्षेत्रमा परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएकोले आयात प्रभावित भएको खत्रीले बताउनुभयो । तर नाकालाई सुरु गर्न पहल भइरहेको उहाँले बताउनुभयो ।

पीसीआर मेसिन र डाक्टरको टिम आउँदो हप्ता तातोपानी भन्सार आएपछि मजदुरको कोरोना परीक्षण नियमित गरिने उहाँको भनाइ छ । खासाबाट चिनियाँ ड्राइभरले सिधै नेपालतिरको भन्सार यार्डमा ल्याएर सामान खसाल्ने मोडालिटीमा छलफल भइरहेको उहाँले बताउनुभयो । अहिलेसम्म १२ कन्टेनर सामान नेपाल भित्रिएका छन् । यसअघि २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएपछि तातोेपानी नाका बन्द भएको थियो । २०७६ सालमा भूकम्पको चार वर्षपछि जेठमा खुले पनि फागुनमै फेरि बन्द भएको थियो । चीनमा देखिएको कोभिड–१९ का कारण नाका बन्द गरिएको हो ।

पछि नेपालमा स्वास्थ्य सामग्री अत्यावश्यक भएपछि केही समय नाका खुलाएर सामग्री ल्याइए पनि फेरि बन्द गरिएको हो । तातोपानीबाट सबै खाले सामग्री ल्याइने निर्णय गरेसँगै खुलेको नाका पछिल्लो पटक असार २४ गते अरनिको राजमार्गको बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशीमा बाढी आएर सडक क्षतिग्रस्त भएपछि असार २५ गतेदेखि नाका बन्द थियो ।खासामा मात्रै नेपाली व्यवसायीका झण्डै आठ सय कन्टेनर सामग्री रोकिएका छन् । ती सामान न्यालाम, सिगात्से र खासाका गोदाममा छन् । नाका खुलेसँगै ती सामग्रीसमेत क्रमैसँग ल्याइनेछ ।

भूकम्पअघि यो नाकाबाट हरेक दिन सवा करोडको हाराहारीमा राजस्व सङ्कलन हुने गर्दथ्यो । पछिल्लो आर्थिक वर्षमा भन्सारले एक अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू