अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

सेनाले बाटो खनेपछि छाङरुबासी हिंडे स्वदेशी भूमिकै बाटो

बिआरटीनेपाल २०७७ असोज २० गते ७:३३ मा प्रकाशित

नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटो र घोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि ब्यास नगरपालिका वडानम्बर १ छाङरुबासी स्वदेशी भूमिकै बाटो हिंड्न थालेका छन । अब छाङरुबासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न पनि सजिलो भएको छ ।नेपाली सेनाले गोरेटो र घोडेटो बाटो खनेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै–किनार भएर आवत–जावत गर्न सुबिधा समेत मिलेको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले घोडेटो बाटो पूर्णरुपमा सञ्चालनमा आएसँगै अब मुलुकको एक स्थानबाट अर्को स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्नुपर्ने बाध्यता हटेको जानकारी दिनुभयो ।सदरमुकामदेखि घाँटीबगड हुँदै छाङरु जाने बाटो ३ वर्षदेखि अवरुद्ध भएपछि विदेशी भूमि प्रयोग गर्नुपर्ने स्थानीयलाई बाध्यता थियो । तर गत जेठ २६ गते बाटो निर्माण सुरु गरेको नेपाली सेना ४ महिनाको भगीरथ प्रयासपछि विकट पहरा छिचोलेर स्वदेशी भूमिबाटै स्थानीयलाई यात्रा गराउन सफल भएको छ।

नेपाली सेनाले प्रतिकूल मौसम, विकट इलाका र कठोर चट्टानलाई विष्फोटक पदार्थ प्रयोग गरी १ करोड ८ लाख ३६ हजारको लागतमा २ मिटर चौडा र ५ सय ५० मिटर लामो बाटो निर्माण गरिएको जनाएको छ । बाटो निर्माणका लागि सेनानीको नेतृत्वमा ६५ सैनिक परिचालन गरिएको थियो भने ३३ जना गैर सैनिक नागरिक अहोरात्र खटिएका थिए ।

बाटो हस्तान्तरण कार्यक्रममा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जटिल परिस्थितिमा पनि सेनाले उत्कृष्ट काम गरेको बताउनुभयो । उहाँले त्यस क्षेत्रको विकासमा सेनाबाट थप योगदान पुग्ने पनि विश्वास गर्नुभएको छ ।सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले बाटो निर्माणमा सेनालाई सहयोग पु¥याउने प्रदेश सरकार र स्थानीय तह सबैप्रति धन्यवाद दिनुभयो । बाटो निर्माण गर्ने क्रममा स्थानीय देवानसिंह धामीको ढुंगा लागेर मृत्यु भएको थियो । बीमा बापतको १० लाखको चेक र योगदानको उच्च मुल्यांकन गर्दै प्रधानसेनापति प्रशंसा निशान दिवंगत धामीकी पत्नी लक्ष्मी धामीलाई प्रदान गरिएको छ।

बाटो सञ्चालनमा आएसँगै त्यस क्षेत्रका १ सय ८४ घरधुरीका १ हजार २ सय ५० जनालाई हिंड्न र पशु चौपाया ल्याउन र पु¥याउन सहज भएको छ । मार्गको तम्पाकु खण्डमा सजिलोसँग आवतजावत गर्न केही कठिनाई रहेकाले त्यसमा पनि सेनाबाट काम भइदिए राम्रो हुने स्थानीयको अनुरोध छ । सेनाले भने महाकाली करिडोर (दार्चुला–तिङ्कर) निर्माणका क्रममा स्थानीय अपेक्षा बमोजिम त्यस क्षेत्रलाई प्राथमिकता दिने जनाएको छ । अति विकट भौगोलिक अवस्थाका कारण हेलिकोप्टर र साहसिक सैनिक परिचालनबाट मात्रै छोटै समयमा बाटो निर्माण सम्भव भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू