अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

अनलाइन कक्षाबाट बालबालिकाको आँखामा गम्भीर समस्या आउन सक्छ – दृष्टि विशेषज्ञ

बिआरटीनेपाल २०७७ असोज १९ गते ६:५८ मा प्रकाशित

विद्यालयहरुले सञ्चालन गरेका अनलाइन कक्षाबाट बालबालिकाको आँखामा गम्भीर समस्या आउन सक्ने दृष्टि विशेषज्ञहरुले चेतावनी दिएका छन् । दृष्टि विशेषज्ञ सङ्घका प्रवक्ता दीपककुमार शाहले स–साना बालबालिकाले समेत लामो समयसम्म डिजिटल स्क्रिनमा हेर्दा आँखामा तत्कालीन र दीर्घकालीन असर देखिने बताउनुभयो ।अहिले विद्यार्थीहरु अनलाइन कक्षा, अनलाइन होमवर्क, थप टेलिभिजन र अरु प्रयोजनका लागि मोबाइल, ल्यापटप चलाउँदा औसतका आठ घण्टाभन्दा बढी स्क्रिनमा हेर्ने भएकोले यो आँखाका लागि घातक भएको उहाँले बताउनुभयो ।

दृष्टि विशेषज्ञ शाहले लामो समय स्क्रिनमा हेर्दा तत्काल आँखा पोल्ने, बिझाउने, हेर्न कठिन हुने, आँखा सुख्खा हुने जस्ता समस्या देखिने र दीर्घकालीन असरका रुपमा दूर दृष्टि दोषसँगै दृष्टि गुम्नेसम्मको जोखिम रहने बताउनुभयो ।सरकारले अनलाइन कक्षालाई अनुमति दिएको र कोरोना महामारीका कारण यो बाध्यता समेत भएकोले बालबालिकाको आँखा स्वास्थ्यलाई ध्यान दिएर अनलाइन कक्षा सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले अनलाइन कक्षा सञ्चालन गर्दा एक कक्षाभन्दा मूनिका बालबालिकालाई ३० मिनेटभन्दा कमको एउटा कक्षा, कक्षा एकदेखि आठसम्मका लागि ४५ मिनेट अवधिका दुई वटा कक्षा र कक्षा नौदेखि १२ सम्मका बालबालिकालाई ४५ मिनेट दरका चार वटा कक्षा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।यस्तै कक्षा १२ भन्दा माथिका बालबालिकालाई ४५ मिनेट दरका बढीमा चार वटा कक्षा सञ्चालन गर्न सकिने दृष्टि विशेषज्ञ शाहले बताउनुभयो । उहाँले अनलाइन कक्षा लिँदा उज्यालो र हावा ओहोर दोहोर हुने कोठामा बस्नुपर्ने, हरेक २० मिनेटमा उठेर २० सेकेण्डसम्म २० मिटर पर हेर्नुपर्ने, प्रशस्त पानी पिउने, आँखाको व्यायाम गर्ने जस्ता काम गर्नुपर्ने बताउनुभयो ।

बजारमा आँखा जोगाउने चस्मा बेच्ने गरेको भए पनि त्यसको प्रभावकारिता पुष्टि भइनसकेकोले सकेसम्म कम समय स्क्रिनमा बिताउनु उत्तम हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू