अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

सीमासम्बन्धी कार्यदलले परराष्ट्रमन्त्रीलाई प्रतिवेदन बुझायो

बिआरटीनेपाल २०७७ असोज १९ गते १:२७ मा प्रकाशित

सरकारले गठन गरेको सीमासम्बन्धी कार्यदलले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई प्रतिवेदन बुझाएको छ ।भारतसँग सीमा विवादबारे वार्ता गर्नुअगाडि कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्बन्धमा नेपालले आवश्यक ऐतिहासिक दस्तावेज र प्रमाणहरु सङ्कलन र त्यसलाई लिपिबद्ध गर्न ९ सदस्यीय कार्यदल बनाइएको थियो ।

कार्यदलले जिम्मेवारी पाएको झण्डै चार महिनापछि प्रतिवेदन बुझाएको हो । सरकारले गएको जेठ २२ गते नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञहरु र परराष्ट्र मन्त्रालयका सह-सचिव रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलमा अन्तर्राष्ट्रिय कानुनविद् सूर्यप्रसाद सुवेदी, इतिहासविद् रमेश ढुंगेल, कानुनविद् विपिन अधिकारी, जलविज्ञानविद् जगत भुसाल, नापी विभागका पूर्व-महानिर्देशक तोयानाथ बराल, अवकाश प्राप्त उपरथी हिमालय थापा र अप्सरा चापागाईँ हुनुहुन्थ्यो । त्यस्तै सदस्य-सचिवमा परराष्ट्र मन्त्रालयका सह-सचिव रामप्रसाद सुवेदी रहनुभएको थियो ।

कार्यदलले प्रमाण सकलन गर्ने क्रममा सन् १८१६ मा भएको सुगौली सन्धिलाई प्रमुख आधार बनाएको उल्लेख छ । नेपालले सीमाको विषयमा भारतसँग वार्ताको प्रस्ताव गरे पनि भारतले अहिलेसम्म जवाफ दिएको छैन । भारतले नेपाललाई नसोधेर एक्लै नक्सा जारी गरेपछि नेपालले पनि जेठ ५ मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू