अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

दशैं नजिकिदै, आकाशमा रंगीचंगी चङ्गा देखिन थाले

बिआरटीनेपाल २०७७ असोज १७ गते ७:११ मा प्रकाशित

दसैँ आउन अव दुई साता बाँकी छ । अहिले संसारभर कोरोना महामारी चलिरहेकोले यसपटकको दशैं विगतको भन्दा केही फरक हुने अवस्था छ । सरकारले पनि यसपटक दशैंमा धेरै मान्छे भेला भएर टीका लगाउन र पाहुना जान,बोलाउन बन्द गर्न आग्रह गरिसकेको छ ।तर वर्षमा एकपटक आउने यति ठूलो चाडमा फेष्टिभ मुड भने धेरैको बन्छ । त्यसमाथि काठमाडौँ उपत्यकामा सरकारले अध्यादेश खुकुलो बनाएसँगै सर्वसाधारणहरु सामान्य हुँदैछ । नजिकिएको दशैं र सर्वसाधारण सामान्य जीवन फर्कदै गरेको संकेत अहिले काठमाडौंका आकाशमा यदकदा देखिन थालेको रंगीविरंगी चंगाहरुले पुष्टि गर्दछ ।

केही दिन यता काठमाडौँको आकाशमा चंगाको चहलपहल बढेको छ । मनसुन पूर्ण रुपमा बाहिरिन बाँकी भए पनि शरद ऋतुको आगमनसँगै खुलेको मौसममा बालिबालिकाहरु रंगीबिरङगी चंगालाई लट्टाइ र धागोको सहायताले निलो आकाशमा उडाउन थालेका छन् ।

दशैं शरद ऋतुमा पर्छ । शरदीय वायुमा चङ्गा उडाउन सहज हुन्छ । त्यसमाथि दशैंको फुर्सद । यो एउटा रमाइलो गर्ने वा मनोरञ्जन लिने माध्यम पनि हो । त्यसैले पनि यस समयमा चंगा उडाईन्छ । तर, चंगाको साइनो रमाइलोसँग मात्र छैन । चङ्गा उडाउनुसँग धेरै अर्थ जोडिएको छ । यसलाई प्रतिक एवं विम्बको रुपमा पनि लिने गरिएको छ ।

यस्तै यसले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ । चङ्गा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो । किनभने चङ्गा उडाउनका लागि अरु मौसम अनुकुल हुँदैन । यतिबेला भने आकाश खुला हुन्छ । वायुमण्डलमा शीतल हावा चल्न थाल्छ । चङ्गा उडाउन मन्द हावाको बहाव चाहिन्छ । यस्तो बहाव शरदीय मौसममा मात्र उपलब्ध हुन्छ ।

जानकारहरुका अनुसार चंगाको इतिहास लामो छ । चंगाको आविष्कार चीनमा ईशा पूर्व तेस्रो शताब्दीमा भएको हो । विश्वमै पहिलो चिनिया दार्शनिक हुआंग थेगले चंगा बनाएका थिए । यस हिसाबले हेर्दा चंगाको इतिहास २३ सय बर्ष पुरानो छ ।चंगा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन्छ । नेपालमा त यसको धार्मिक कथन पनि छ । लोककथा वा किंवदन्तीअनुसार वर्षायाममा धेरै पानी परिसकेको हुने र धान पाक्ने बेला भइसकेको हुने हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भन्ने सन्देश चंगा उडाएर पठाएको मानिन्छ। चंगा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास पनि छ ।

चंगा मनोरञ्जनका लागि खेलिने खेल मात्र होइन । यो आफैंमा कला पनि हो । किनभने उडाउने कला भएन भने चङ्गा उड्दैन । यसलाई जीवन जिउने कलासँग समेत जोडिएर हेरिएको छ । जानकारहरु भन्छन्, ‘चंगा उडाउने कलाले हामीलाई जीवन र जगतका धेरै कुरा बोध गराउँछ ।’धागोले बाधिएर लट्टाईबाट नियन्त्रण गरिने चंगा अनेक मान्यता, अन्धविश्वास र अनौठो प्रयोगको आधार पनि रहेको छ । मानिसको महत्वकांक्षालाई आकाशको उचाईसम्म लिएर जाने

चंगालाई कतै सगुन र कतै अपसकुनको रुपमा लिने गरिन्छ । प्राचीन दन्त्यकथालाई विश्वास गर्ने हो भने, चीन र जापानमा चंगाको प्रयोग सैन्य उदेश्यका लागि पनि गरिन्थ्यो ।चीनमा राजा राजवंशको क्रममा उडेको चंगालाई त्यतीका छाड्नु भनेको दुर्भाग्य वा रोगलाई निम्तो दिनु समान मानिन्थ्यो । कोरियामा चंगामा बच्चाको नाम र उसको जन्ममिति लेखेर उडाइन्थ्यो, ताकि त्यसबर्ष बच्चाको संभावित दसा काटियोस् ।

विश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चंगा उडाउने चलन भएपनि नेपालमा भने दसैं–तिहारलगायतका चाडपर्व आएको संकेत यसले दिने गर्छ ।

अहिले गाउँघर या शहरमा चंगा उडाउने संस्कृति धेरै कम हुँदै गएको छ । जसका कारण शहर बजारमा पहिले पहिले किराना पसल देखी तरकारी पसलसम्म पाइने चंगा अहिले आएर बजारमै केही सीमित पसलमा मात्र भेटिने गरेको छ । अझ लट्टाइ त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्ने अवस्था छ । पछिल्लो १० वर्षमा चंगा उडाउनेको संख्या ज्यादै कम हुँदै गएको धेरैको अनुभव छ ।

केही व्यक्ति चंगालाई पृथ्वी र स्वर्गबीचको सम्पर्क कडीका रूपमा लिन्छन् । चीनमा चंगा उडाउनुलाई दुष्टात्मा धपाउने प्रयासका रूपमा लिइन्छ । जापानमा प्रत्येक नयाँ वर्षको शुभदिनमा चंगा उडाउने चलन छ । हाँका पिताले छोराका नाममा चंगा उडाएर छोराको लामो आयुका लागि प्रार्थना गर्दछन् । यसलाई जापानी वंश परम्परालाई अगाडि बढाउने प्रतीकका रूपमा मान्दछन् ।

कोरियामा चंगाको उपयोग दुर्भाग्य तथा दुष्टात्मा भगाउनका लागि गरिन्छ। कोरियाली चान्द्र पात्रोअनुसार नयाँ वर्षको पूर्णिमाको राति दुर्भाग्य भगाउन तथा सौभाग्य ल्याउनका लागि ठूलो चंगामा ’अशुभ जाओस ’ लेखेर आकाशमा उडाउँछन् । आकाशमा उडिरहेको चंगाको धागोलाई काटिदिन्छन् ।

उनीहरूको विश्वास छ, त्यो चंगासँगै उनीहरूको दुर्भाग्य पनि आकाशमा जान्छ र सौभाग्य नजीक आउँछ । श्रीलंका र थाइल्यान्डमा चंगाको माध्यमबाट स्वर्ग र पृथ्वीबीच सम्पर्क हुन्छ र मृत्युपछि स्वर्ग पुगिन्छ भन्ने विश्वासमा चंगा उडाइन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू