अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक लाख नाघ्यो

बिआरटीनेपाल २०७७ असोज १७ गते ७:०४ मा प्रकाशित

भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ ।पछिल्लो २४ घन्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै शनिबार साँझ सम्म कुल मृतकको संख्या एक लाखभन्दा बढी पुगेको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ८४२ जनाको मृत्यु भएको जनाएको छ ।

एकैदिनमा संक्रमित हुनेहरुको संख्यामा भने कमी आएको देखिएको छ । केही दिनअघिसम्म दैनिक झन्डै एक लाख मानिस संक्रमित हुने गरेकोमा अहिले घटेर ८० हजारको हाराहारीमा झरेको छ ।सरकारी अधिकारीहरुकाअनुसार पछिल्लो २४ घन्टामा भारतमा ७९ हजार ४७६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।योसँगै भारतमा कुल संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४५ पुगेको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये ५४ लाख २७ हजार ७०७ जना संक्रमणमुक्त भइसकेका छन् भने नौ लाख ४४ हजार ९९६ जना अझैपनि संक्रमित अवस्थामै रहेका छन् ।भारतमा सबैभन्दा धेरै संक्रमितहरु महाराष्ट्र प्रदेशमा रहेका छन् भने त्यसपछि क्रमशः कर्नाटक, केरला, आन्ध्र प्रदेशमा धेरै संक्रमितहरु रहेका छन् । भारतमा अहिलेसम्म सात करोड ७८ लाख ५० हजार ४०३ जनाको कोरोना परीक्षण गरिएको छ । तीमध्ये शुक्रबारमात्रै ११ लाख ३२ हजार ६७५ जनाको कोरोना परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू