अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

“सरकारको रवैयाले राज्य प्रणाली विघटन र प्रतिगमनको लहर आउने खतरा” ः डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७७ असोज १७ गते ६:४४ मा प्रकाशित

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रित भएको बताउनुभएको छ । अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएको उहाँले बताउनुभयो ।

विभिन्न माग राख्दै अनशनमा रहेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई शनिबार भेट्दै भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको बताउनुभयो । जनता समाजवादी पार्टीका नेतासमेत रहनुभएका पूर्वप्रधानमन्त्री भट्टराईले पार्टी र सर्वोच्च अदालतलेसमेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापनमा खेर फालेको बताउनुभयो ।

महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको उहाँले बताउनुभयो ।उहाँले सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरासमेत रहेको बताउनुभयो ।विभिन्न सञ्चारमाध्यममा कार्यरत् पत्रकार कर्मचारीहरु कोभिड(१९ को बाहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवा(सुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनशनमा रहेका छन् ।

उनीहरुसँगको भेटमा डा. भट्टराईले कोभिड–१९ को महामारीका बेला सरकारले गर्नुपर्ने काममा सचेत गराउन श्रमजीवी पत्रकाहरुले ठूलो भूमिका खेलिरहेको बताउनुभयो ।सरकारलाई सचेत गराउन श्रमजीवी पत्रकारुले गरेकोजस्तो मेहनत राजनीतिक दलहरुले गर्न नसकेकोमा आफू लज्जित रहेकोसमेत भट्टराईले बताउनुभयो ।

कोभिड– १९ लाई बाहाना देखाउँदै जबर्जस्ती निकालिएका कर्मचारीलाई निःशर्त पुनःबहाली गर्नुपर्ने, तोकिएको पारिश्रमिक दिनुपर्ने, जबर्जस्ती राजीनामा दिन बाध्य पारिएको, बदनियतपूर्ण सरुवा गर्ने निर्णयहरु खारेज गर्नुपर्ने माग राख्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत् पत्रकारहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू