अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण बाँकी

बिआरटीनेपाल २०७७ असोज १६ गते १:४८ मा प्रकाशित

काठमाण्डौ  एकान्तकुनाकाे यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ ।लकडाउनमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो । कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ ।

लकडाउनकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको छ ।

कार्यालयले दूरी कायम गर्न प्रचारात्मक सामग्री टाँसेको छ भने साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, ‘हामीले स्वास्थ्य सावधानी अपनाउन लगाउनेभन्दा सेवाग्राही आफैँ पनि सजग हुनुपर्छ ।’सरकारले गएकाे चैतदेखि जारी लकडाउन असारदेखि खुला गरेपछि कार्यालयले असारसम्मको अनुमतिपत्र वितरण गरेको छ । कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ भने नयाँ अनुमतिपत्र अहिलेका लागि स्थगन गरेको छ ।

कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा स्थगन छ । उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले निर्णय नै गरेर नखुलाउँदासम्म यो सेवा तत्काल खुल्दैन ।’काठमाण्डौ उपत्यकालगायत प्रदेशभरका विभिन्न जिल्लामा सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले नयाँ चालक अनुमतिपत्र बन्द गरेको उहाँले जानकारी दिनुभयो । केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो ।

काठमाण्डौ उपत्यकामा अहिले चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ । सबैभन्दा बढी सेवाग्राहीको भीड भने एकान्तकुनामा रहेकाे कार्यालयमा नै देखिन्छ । अहिले पनि यहाँ खटिएका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न कठिन भएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू