अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१९ | Colorodo: 21:34

“विकासोन्मुख राष्ट्रलाई महामारीबाट बचाउन सामुहिक प्रयास आवश्यक” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ असोज १४ गते ६:४६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गर्नुभएको छ ।

संयुक्त राष्ट्र संघको ७५ औँ महासभाका अवसरमा न्युयोर्कमा भएको ‘दीगो विकास कार्यसूचि २०३० मा लगानी, कोभिड–१९ र त्यसपछिको समय’ विषयको उच्चस्तरीय बैठकलाई ३२ भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रका तर्फबाट सम्बोधन गर्दै उहाँले घट्दो व्यापार तथा पर्यटकीय आय, वैदेशिक मुद्राको आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानी, बाह्य ऋण भुक्तानीको चापका बिचमा पनि वर्तमान संकटका कारण उत्पन्न चुनौतीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न भूपरिवेष्ठित विकासोन्मुख राष्ट्र संघर्षरत रहेको बताउनुभयो ।

भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रका विशेष आवश्यकतालाई पहिचान गरी संयुक्त व्यापार तथा लगानी प्रवद्र्धनका साथै संकटमोचनका निम्ति विश्वव्यापी सहयोग र समन्वय संयन्त्र अपरिहार्य भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रको व्यापार र संरचनागत आर्थिक रुपान्तरणका लागि क्षमता अभिवृद्धि महत्वपूर्ण हुनेमा जोड दिँदै उहाँनले दीगो विकासका लक्ष्य हासिलका कार्यक्रम कार्यान्वयन गर्न उनीहरुको वित्तीय अभाव अन्य मुलुकभन्दा अधिक रहेको यथार्थ प्रस्तुत गर्नुभयो ।

उहाँले भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रका स्वास्थ्य प्रणालीलाई सबल बनाउन तथा पुनरुत्थान र पुनःनिर्माणको प्रक्रियाका आवश्यकतामा भरथेग गर्न राष्ट्रसंघीय प्रणाली, अन्तर्राष्ट्रिय समुदाय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई आह्वान गर्नुभएको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू