अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 16:13

नेपाली कांग्रेस विवाद– देउवाविरूद्ध पौडेल, कोइरालालगायत २७ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

बिआरटीनेपाल २०७७ असोज १२ गते ७:४० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग असन्तुष्ट पार्टीका वरिष्ठ नेता र केही पदाधिकारीसहित केन्द्रीय सदस्यले हस्ताक्षर बुझाएका छन्। केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सोमबार पार्टी केन्द्रीय कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विरोध पत्र दर्ता गराउनुभएको हो ।

पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भन्दै उनीहरूले हस्ताक्षर बुझाएको बताईएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षर बुझाइएको हो।

उनीहरूले असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरूका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्ने तर्फ सभापतिले गम्भिरता र तदारूकता नदाखाए संघर्षका कार्यक्रम गर्न बाध्य हुने पनि उल्लेख गरेका छन्। उनीहरूले विभागदेखि भातृ संस्थाका म्याद थप गरेकोमा पनि खारेजीको माग गरेका छन्। पछिल्लो समय सभापति देउवाले २० भन्दा बढी विभाग गठन गरेका थिए।

महाधिवेशन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग देउवाले नियमित चार वर्षे कार्यकाल सकेर थपिएको समयमा गठन गरेका थिए। महाधिवेशनका मुखमा विभाग गठन गर्दै ‘पद बाँडेर’ महाधिवेशन नै प्रभावित बनाउन खोजेको पौडेल पक्षको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू