अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

मोदनाथ प्रश्रितद्धारा पद्मश्री साहित्य सम्मान नलिने घोषणा, ‘विवाद ल्याउन खोजिएको’ ठहर

बिआरटीनेपाल २०७७ असोज १२ गते २:२२ मा प्रकाशित

साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने जानकारी सम्मान प्रदान गर्ने संस्थालाई गराएको बताउनुभएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई तथा पद्मश्री साधना सम्मान प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो । दुवै पुरस्कारको राशी तीन–तीन लाख रुपैयाँ हो ।

पुरस्कार घोषणा भए लगत्तै उपन्यासकार उप्रेतीले पद्मश्री साधना सम्मानका लागि छनौट गरिएका राजनीतिज्ञ तथा लेखक मोदनाथ प्रश्रित यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति भएकाले उनीसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन आफूले नसक्ने आयोजकलाई जानकारी गराएको बताउनुभएको थियो । सोमबार प्रश्रितले पनि आयोजकलाई आफूले अहिलेको अवस्थामा सम्मान नलिने जानकारी गराएको बताउनुभएको छ ।

प्रश्रितले भन्नुभएको छ , ‘एक पक्षले विभिन्न आरोप लगाएपछि सम्मान नै विवादित बनेको अवस्थामा तत्कालका लागि मैले सम्मान ग्रहण गर्न नसक्ने जानकारी गराएँ । मैले आयोजकलाई–तत्कालका लागि कार्यक्रम नगरौँ, तपाईँहरुले राम्रो उद्देश्यले सम्मान गर्न खोज्नु भएको हो त्यसका लागि धन्यवाद तर आक्षेपहरुले वातावरण राम्रो छैन । पछि अवस्था राम्रो भएछ भने लिउँला, अहिलेलाई नगरौँ भनेर जानकारी गराएँ ।’

यसअघि आइतबार हंसका लेखक उप्रेतीले भन्नुभएको थियो, ‘म लैंगिक हिंसा, उत्पीडन, जातीय विभेदका बिरुद्ध बोलिरहने व्यक्ति भएर यौन उत्पीडनको आरोप लागेका व्यक्तिसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन सक्दिनँ । प्रश्रितको देवासुर संग्राम मैले पनि पढेको छु, साहित्यकारका रुपमा मेरो उहाँलाई सम्मान छ तर उत्पीडनको आरोपमा उहाँमाथि किताब नै लेखिएको छ, त्यसलाई म बेवास्ता गर्न सक्दिनँ।’

प्रश्रितले भने आफूमाथि आधारहित आरोप लगाएर सम्मानित पुरस्कारलाई नै धुमिल बनाउन खोजिएकाले आफूले नलिने जानकारी गराएको प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू