अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 11:53

बृद्धाश्रमका बृद्धबृद्धाहरु

उषा शेरचन २०७७ असोज ११ गते १०:४३ मा प्रकाशित

समयको धारसँगसँगै
वाग्मतीको पानी बगे सरह गरेर
तिमीहरु पनि बग्यौँ हामीलाई बिर्सेर

तिमीहरुको लालन पालनमा
दिन भनिएन
रात भनिएन
हिउँद भनिएन
बर्षा भनिएन

उमेर छउन्जेल त
हात पाखुरा बिक्थ्यो
रगत पसिना बिक्थ्यो
सुनजस्तै थियौँ हामी
र त सुनको भाउमै बिक्यौँ

अहिले त
सबैसबै बिक्नै छाडेर
खोटो सिक्काजस्तै भयौँ
र त यसरी बृद्धाश्रममा मिल्कियौँ

अचेल त झन्
आफ्नै हड्डीले समेत आफैँलाई घोच्छ
आफ्नै बिस्तराले समेत आफैँलाई पोल्छ

हेर्यौँ भने आँखा धमिलो धमिलो हुन्छ
सम्झ्यौँ भने मन अमिलो अमिलो हुन्छ

तिमीहरु जन्मदा खुसीले आकाश छुन्थ्यौँ
र, बुढेशकालको सहारा भनेर गर्व गथ्र्यौ

अहिले त
आफ्नै खुट्टाको कुनै भरै छैन
हिँडडुल गर्दा ढलपल ढलपल गर्छौँ
र त सहाराका लागि तिमीहरुलाई खोज्छौँ

तर अपसोच
सहाराका लागी
न त कुनै काँधहरु नै भेट्छौँ ?
दुखाई छाम्नका लागि
न त कुनै हातहरु नै देख्छौँ ?

तिमीहरु सबैसबै हरायौँ आआफ्नै सुन्दर संसारभित्र
हामीहरु अर्घेलो भयौँ र अटाएनौँ तिम्रो परिवारभित्र

तिमीहरु हाँस्दा हाँस्थ्यौँ हामी, कुनै बेला
तिमीहरु रुँदा रुथ्यौँ हामी, कुनै बेला

अहिले हाम्रो अगाडी न हाँस्ने कोही छन् ?
अहिले हाम्रो पछाडी न रुने नै कोही छन्?

यो बृद्धाश्रमको एउटा कुनामा बसेर
कालकै बाटो हेरेर
काललाई नै पर्खिरहेका छौँ
तै पनि
हामीलाई लिन किन आँउदैन हँ ?
त्यो निठुरी काल पनि !
त्यो निर्मोही काल पनि !!

प्रतिक्रिया