अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

होसियार

रश्मि भट्ट २०७७ असोज ११ गते १०:३८ मा प्रकाशित

कविता

अकविहरूको भीड बढेको बेला
कवि, तिमीले नलेख्नु कविता
गीत गजल र मुक्तकहरू
प्रकाशन नगर्नू, कुनै अखबारमा
आफ्ना मनका आवाजहरू
अक्षरहरूको स्वर्ण महल
लिलामी नगर्नु ब्वाँसाहरूलाई
हिमाली कञ्चन हृदय
नपगाल्नु दुष्टहरूलाई
विद्रोह नबोल्नु असत्यमा
गीत नगाउनु प्रेम र शान्तिको ।।

साँढेहरूले रॅजाई गरेको बेला
नहुर्कनु बाच्छा बाच्छीहरूले
स्वतन्त्र नकुॅदूनु सडक गल्ली
र चउरहरूमा, बुर्कुसी नमार्नु
फूलले सुवास नछर्नु
प्रकृतिमा बास्ना नफिँजाउनु
स्वार्थी भमराहरूलाई,
तिम्रा नैसर्गिक सुगन्धले,
बलात्कारीलाई ऐठन नबनाउनु
बरु सत्य युगमा जन्म लिन
आमाकै गर्वमा बिलाइरहनु
माटोमुनि लुकिरहनु ।।

घाम जून नलागुन्
धरतीमा आफै उज्याला छन् रे मानिसहरू
तिमी भन्दा धेरै बलवान पो
छन् रे पापीहरू
तिमी कमजोर र निरीह मान्छे
कहिल्यै नमिसिनु तिनीहरूको हुलमा
तिम्रो नाम बिकाएर
पाप पखाल्न नदिनु धूर्तहरूलाई
नर्कको चौरस्ता खोलिसकेकाहरूलाई
नफर्काउनु, नदेखाउनु स्वर्गको बाटो ।।

हो पटक्कै नलेख्नु कवि
तिमीले यति बेला कविता
प्रशंसा नगर्नु झुक्किएर कसैको
द्वेष नगर्नु रूख्खिएर कसैको
कृतघनहरूलाई नियाल्न नछोड्नु
दुष्टात्माहरूलाई पोषण नगर्नु
आँखा चिम्म गरेर,
मुख बन्द गरेर
हेरिरहनु कालो कर्तुत
हमेसा होसियार भइरहनु
चनाखो भई रहनु ।।