अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

सीमामा भारतीय कदमका बारेमा चीन ’अलर्ट’ हुनुपर्छ – ग्लोबल टाइम्स

बिआरटीनेपाल २०७७ असोज ११ गते ६:५४ मा प्रकाशित

भारत र चीनबीच सीमामा तनाव कम गर्नको लागि सैन्य र कुटनीतिक स्तरमा प्रयास भइरहेको छ तर दुवै देशका सञ्चारमाध्यममा भने यस विपरीतका समाचार प्रसारित भइरहेको छ । यसैबीच चीनको सरकारी अखबार ग्लोबल टाइम्सले सीमामा भारतको तर्फबाट गोली चल्न सक्ने र त्यसको ‘असहनीय परिणाम’ हुने बताएको छ । भारतले सीमामा सैनिकको सङ्ख्या बढाउनु, चिनियाँ सेनासँगको कुनै पनि झडपमा गोली चलाउने अधिकार दिनुले दुवै देशबीचको तनाव अझै बढ्ने र भारतको लागि पनि यसको परिणाम खतरनाक हुने अखबारले पर्यवेक्षकलाई उद्धृत गर्दै लेखेको छ ।

भारतले चीनसँग तनाव कम गर्न सहमति जनाएको समयमा यस्तो आशङ्का बढेको अखबारले लेखेको छ । ‘दुवै देशको सैन्य कमाण्डर स्तरको छलफलमा अग्रपङ्क्तिमा सैनिकको सङ्ख्या नबढाउने सहमति भए पनि भारतले सहमतिमा इमानदारिता नदेखाउँदा तनाव बढिरहेको छ’, अखबारले भनेको छ । अखबारले जानकारहरुको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘तनावलाई मध्यनजर गर्दै चीनले सीमामा भारतसँग अलर्ट हुनुपर्छ, कुनै पनि सम्भावित सैन्य सङ्घर्षको लागि तयार हुनुपर्छ किनकि भविष्यमा सीमामा यो सामान्य कुरा हुँदैछ ।’यसअघि भारतको ‘द हिन्दू’ अखबारमा एक रिपोर्ट आएपछि ग्लोबल टाइम्सको तर्फबाट यस्तो रिपोर्ट आएको हो ।

यसमा भारतले चीनलाई स्पष्ट सन्देश दिँदै पीएलएका सेना अघि बढे भारतीय सेनाले उनीहरुमाथि गोली चलाउन सक्ने रिपोर्ट छापिएको थियो । एक शीर्ष भारतीय अधिकारीले अखबारसँग यस्तो बताएका थिए । अधिकारीले भनेका थिए, ‘अब हामीले चीनलाई अघि बढे हामी गोली चलाउँछौँ भनिसकेका छौँ । सैनिकलाई पनि आत्मरक्षाको लागि गोली चलाउन अधिकार दिइएको छ ।’

केही दिनअघि मात्रै पूर्वी लद्दाको प्योङयाङ नजिक भारत र चीनका सेनाबीच कैयौँ पटक हवाई पायरिङ भएको थियो । भारत र चीनबीच भएको छैटौ पटकको वार्तामा दुवै देशको सीमामा अब अरु सेना नपठाउने सहमति भएको थियो । भारतीय अधिकारीहरुका अनुसार भारत आफ्नो सीमा क्षेत्रमा आफ्नो उपस्थिति मजबुद राख्न चाहन्छ । गएको जुन १५ मा लद्दाखको गलवान उपत्यकामा भएको झडपमा भारतका २० जना सैनिकको ज्यान गएको थियो । चीनले भने आफ्नो पक्षतर्फ कति हताहत भयो भन्नेबारेमा अझै जानकारी दिएको छैन । त्यसपछि सीमा क्षेत्रमा शान्ति स्थापना गर्न दुवै देशले पहल गरे पनि झडप भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू