अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

कोरोनाका कारण नेपाल बाहिर २ सय ४४ नेपालीको ज्यान गयो, विश्वभर १ लाख बढी नेपाली संक्रमित

बिआरटीनेपाल २०७७ असोज ८ गते ७:३० मा प्रकाशित

कोरोनाका कारण विश्वका विभिन्न देशमा रहेका दुई सय ४४ नेपालीको ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट यो हप्ता अमेरिकामा थप एक जनाको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । यो सँगै गएको शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा कोरोना सङ्क्रमणका कारण ज्यान भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताउनुभयो । स्वास्थ्य समितिका अनुसार यो हप्ता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ सङ्क्रमण देखा परेको छ ।

समितिका अनुसार अहिलेसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यस्तै अमेरिका, बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् । एनआरएनएको तथ्यांकअनुसार विश्वभर १ लाख ८ सय ३१ जना नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २ सय ८९ जनाको उद्धार गरेको जनाएको छ ।

अहिलेसम्म एनआरएनएले कोरोना महामारीका कारण समस्यामा परेका १ लाख ५० हजार गैरआवासीयलाई स्वास्थ्य समाग्रीदेखि खाद्यान्नसम्म सहयोग गरेको छ । संघका कोसाध्यक्ष महेश श्रेष्ठका अनुसार कोरोनाबाट बिभिन्न देशमा प्रभावित नेपालीहरुलाई राहत वितरणको कार्य निरन्तर भइरहेको छ ।

गएको हप्ता कुवेत र यूएईमा रहेका गर्भवती र बालबालिकाहरुलाई राहत वितरण गरेको संघले जनाएको छ । त्यस्तै संघले कतार च्यारिटी र कतार रेडक्रसको सहकार्यमा करिब ७ हजार २ सय फुड प्याकेजहरु बाँडिएको श्रेष्ठले बताउनुभयो । एनआरएनएले यसअघि नेपाल सरकारलाई पनि करिब २ करोड २० लाखको स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू