अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग

बिआरटीनेपाल २०७७ असोज ८ गते ७:२० मा प्रकाशित

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी / मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका छन् । महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटीरमोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन् ।

नेपालमा ओटीटी र मोबाइल एप्स मार्फत प्रभु टिभी र नेट टिभीले टेलिभिजन प्रसारण गर्दै आएका छन् । गत सोमबार संसदको विकास तथा प्रविधि समितिले आगामी कातिक ७ गते भित्रमा विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलहरुमा विज्ञापनरहित नीति (क्लिन फिड) लागू गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो ।

केवल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनु अगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटीरमोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका छन् । महासंघका अध्यक्ष ध्रुव शर्माले नेपालमा ओटीटी मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण कानून सम्बत लाइसेन्स लिएर सञ्चालनमा नआएको भन्दै हटाउनुपर्ने माग गर्नुभयो ।

व्यवसायीहरुले नेपालमा गैरकानूनी रुपमा विदेशी तथा स्वदेशी ओटीटीरमोबाइल एप्समार्फत भएका प्रसारणले अमर्यादित व्यापार गर्नुका साथै सरकारलाई अर्बौंको राजश्व छली गरिरहेको समेत बताएका छन् । त्यस्ता प्रसारणलाई क्लिन फिड लागू हुनु अगाडि नै बन्द गराउन व्यवसायीहरुले माग गरेका छन् ।

यस्तै खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय डिटिएच टेलिभिजन च्यानलहरुले नेपालमा व्यापार गरिरहेको प्रति पनि व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीहरुले क्लिन फिड लागू हुनु अगावै यस्ता समस्याको समाधान नगरे केवल टेलिभिजन व्यवसायीहरुले लगानी गरेको अर्बौं रुपैयाँ जोखिममा पर्ने बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू