अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटीमा फुट, मिडिया अलाइन्स नेपाल गठन

बिआरटीनेपाल २०७७ असोज ७ गते ७:३६ मा प्रकाशित

सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन भएको छ । सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउँदै लगानीकर्ताको हकहितका लागि मिडिया अलाइन्स नेपाल नामक संस्था स्थापना भएको हो । अलाइन्सको तदर्थ समिति अध्यक्ष भाष्करराज राजकर्णिकारले १२ सय करोडको अहिलेको विज्ञापन बजारलाई २५ सय करोडको विज्ञापन बजार बनाउने लक्ष्यका साथ अलाइन्सको स्थापना भएको बताउनुभयो । सञ्चार नीति अभावमा २० अर्ब बढीको लगानी भएको क्षेत्र टुहुरो बन्न पुगेको उहाँले बताउनुभयो । उहाँले एउटै अनुमति पत्रमा निजी क्षेत्र र सरकारी क्षेत्रलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्न नहुने बताउनुभयो ।

अलाइन्सका सल्लाहकार क्याप्टेन रामेश्वर थापाले आवश्यकताभन्दा बढी सञ्चार संस्था खुल्नु, ठूलो लगानी हुनु र बजारले धान्ने अवस्था नहुँदा विकृति बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । सहज रुपमा सञ्चारमाध्यम चल्न सक्ने अवस्था नभए विकृति निम्तिन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न स्वतन्त्र, स्वायत्त र व्यावसायिक व्यक्तिको सहभागिता रहेको छुट्टै नियामक निकायको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

इमेज च्यानलका अध्यक्ष आर के मानन्धरले मिडिया उद्योगलाई बचाउन नसके त्यसमा आश्रित पत्रकार र कामदारको रोजगारी पनि बचाउन नसकिने बताउनुभयो । सञ्चार माध्यम चल्न धौ धौ परेको बेला थपिएको दायित्वले सञ्चारमाध्यम नै बन्द हुने अवस्था सिर्जना हुँदा एउटा प्रतिनिधिमूलक संस्थाले संरक्षण प्रदान गर्न नसक्नु दुःखद भएको बताउनुभयो । अलाइन्सले विगतका प्रतिनिधिमूलक संस्थाले गरेका कमी कमजोरी सच्याएर अगाडि बढ्नेमा सफल हुने विश्वास लिएको उहाँले व्यक्त गर्नुभयो ।

एभिन्यूज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा गठन भएको अलाइन्समा राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टिभीका अध्यक्ष राजु कँडेल उपाध्यक्ष रहनुभएको छ । इमेज च्यानल प्रालीका सीईओ लक्ष्मण हुमागाईँ महासचिव, इम्प्रेशन पब्लिकेशन तथा मिडिया प्रालीका सीईओ उज्ज्वल शर्मा कोषाध्यक्ष रहनुभएको छ ।

सदस्यहरुमा जनता प्रकाशन तथा प्रसारण लिमिटेडका अध्यक्ष डा. विजय शर्मा, प्राइभ टिभीका अध्यक्ष ऋषि धमला, एपी वान टिभीका सीईओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालीका सीईओ सम्बृद्धि ज्ञवाली रहनुभएको छ । सल्लाहकारहरुमा अन्नपूर्ण नेटवर्क प्रालीका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालीका विनोद ज्ञवाली रहनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू