अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

पर्वतको फर्सेमा बाढीले २५ घर विस्थापित

बिआरटीनेपाल २०७७ असोज ७ गते ७:३४ मा प्रकाशित

निरन्तरको वर्षासँगै बस्तीमाथिबाट आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका वडा नम्बर(८, फर्सेका २५ घर(परिवार विस्थापित बनेका छन् । बस्तीको बीचमा रहेको ठाडो खोल्सा (सात्खोसी)मा आएको बाढीका कारण एक घर पुरिएको छ । आसपासका २५ घर÷ परिवार पूर्णरुपमा विस्थापित बनेको जलजला गाउँपालिका÷८ का वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो ।

बाढीका कारण उक्त गाउँमा रहेका ४५ घर नै जोखिममा परेको उहाँले बताउनुभयो । उहाँकाअनुसार खोल्सामा लेदो आउन थालेपछि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कुनै मानवीय क्षति भएको छैन । बाढीका कारण पर्वत, बागलुङ र म्याग्दी जोड्ने झोलुंगेपुल पनि जोखिममा परेको छ । बेनी–मालढुंगा सडकसमेत बिहानदेखि अवरुद्ध बनेको जिसीले जानकारी दिनुभयो ।

निरन्तर वर्षा भएकाले खोल्सा आसपासको बस्तीका बासिन्दाहरुलाई स्थानीय शिव माध्यमिक विद्यालय र आफन्तको घरमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । बस्तीमाथिको ५० रोपनीभन्दा बढी जंगल नै धाँजा फाटेको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्वतले ठूलो वर्षा भएकाले सम्भावित जोखिम हुन नदिन स्थानीयबासीहरुलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । वर्षा नरोकिने बेलासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको र स्थानीयबासीहरु नजिकैको विद्यालय वा आफन्तकोमा आश्रय लिएर बसेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । पहिरोले मंगलबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखन्ड अझै सञ्चालनमा आउनसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू