अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

नयाँ नक्सा समेटिएको पुस्तक तत्काल वितरण नगर्न निर्देशन

बिआरटीनेपाल २०७७ असोज ६ गते ७:३४ मा प्रकाशित

शिक्षा मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा राखेर प्रकाशनमा ल्याएको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक हालका लागि वितरण नगर्न सरकारले निर्देशन दिएको छ । पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तकका शब्दहरु कूटनीतिक मान्यताअनुसार नभएको र थपिएको भूभागअनुसार क्षेत्रफललगायत अन्य कुरा पनि नमिलेको टिप्पणी सम्बन्धित मन्त्रालयबाट भएपछि तत्काललाई उक्त पुस्तक बजारमा नल्याउन सरकारले निर्देशन दिएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।

नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ । लिम्पियाधुरालगायत क्षेत्र समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गर्नुअघि नेपालको क्षेत्रफल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमात्र थियो । पुस्तकमा उल्लिखित विवरणलाई लिएर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आपत्ति जनाएका हुन् । ‘परराष्ट्र मन्त्रालयले पुस्तकमा प्रयोग भएका शब्दहरु कूटनीतिक मर्यादाबमोजिम नभएको र भूमि व्यवस्था मन्त्रालयले नेपालको हुनुपर्ने भूगोलको क्षेत्रफल बिग्रेको टिप्पणी गरेको थियो,’ पुनले भन्नुभयोे, ‘त्यसैले अहिलेका लागि पुस्तक रोक्न निर्देशन दिइएको हो ।’ उहाँले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित मन्त्रालयबीच संयुक्त रुपमा गृहकार्य गरेर मात्र पुस्तक बजारमा ल्याउन निर्देशन दिएको बताउनुभयो ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार हालसम्म उक्त पुस्तक ५ सयप्रति छापिएको छ । भूमिसुधार मन्त्रालयले उक्त पुस्तकमा के/के हुनुपर्नेमा के भएको उल्लेख गर्दै टिप्पणी पठाएको छ । मन्त्रालय स्रोतका अनुसार तीन दर्जनभन्दा बढी प्रसंगका मिति तथा अन्य घटना बिग्रिएका छन् । उक्त दस्ताबेजमा नेपालको क्षेत्रफलदेखि नेपाल–भारत, नेपाल–चीन र अन्य घटनाका मिति र प्रसंगहरुमा गलत उल्लेख गरिएको मन्त्रालयको टिप्पणी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू