अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४ | Colorodo: 17:09

गजल

दिग्गज धौराली २०७७ असोज ३ गते १०:२३ मा प्रकाशित

थाहा छ तिम्रो स्वार्थ पूरा हुनासाथ छुट्टिन पर्छ
खाटो हुँ घाउ सन्चो भएको दिन उक्किन पर्छ

कभर आकर्षक नहुँदा बिकेन दर्शनको किताब
अब यही दर्शनमा अर्को किताब लेखिन पर्छ

काँडा हुन्थेउ भने तिमी बरु नघोच्ने गरी छुन्थें
आगो भयौ प्रत्येक छुवाइमा अब पोलिन पर्छ

हजारको नोटभन्दा एकको सिक्का गह्रुङ्गो भयो
तिम्रो घमण्डलाई पनि मैले यसै गरी सम्झिन पर्छ

डोरीको दुई सरा झैँ बाटिएको थियौँ फुकाई गयौ
म उस्तै छु आज पनि त्यही आकारमा बेरिन पर्छ

प्रतिक्रिया