अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

ठेकेदारले बदमासी गर्दा समयमै मल नआएको हो, कोरोनाका कारण होइन – कृषिमन्त्री भुसाल

बिआरटीनेपाल २०७७ असोज २ गते ७:४९ मा प्रकाशित

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रासायनिक मल आयातमा समस्या भएको बताउनुभएको छ ।साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भए पनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उहाँले बताउनुभयो । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताउनुभयो ।

विगतमा ढिला टेण्डर आह्वान हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रक्रिया अगाडि बढाउँदा पनि ठेकेदारहरुका लागि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘टेण्डर गरेर दुईरतीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन् । सम्झौता गरेपछि एलसी गर्न आएनन् । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुप¥यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ । असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल ल्याएर वितरण गर्नुपर्ने थियो । साल्ट ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’

मन्त्री भुसालले यो वर्ष विगतभन्दा बढी खेती भएकाले मलको माग पनि बढी भएको बताउनुभयो । कोरोनाले गर्दा श्रमशक्ति गाउँमा भएपछि खेती पनि बढेको उहाँले बताउनुभयो । विगतमा किसानहरुले मल अभाव हुँदा सीमा क्षेत्रबाट आफै ल्याउने गरे पनि यो वर्ष लकडाउनका कारण सम्भव नभएपछि समस्या भएको उहाँको भनाइ छ ।

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रासायनिक मल नल्याएको भन्दै दुई वटा सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

यी दुई सप्लायर्सले गएको आर्थिक वर्ष २०७६/०७७ का लागि आह्वान भएको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार २५/२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू