अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

काठमाडौं र ललितपुरका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन

बिआरटीनेपाल २०७७ असोज १ गते २३:५२ मा प्रकाशित

राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन रहेको खुलासा भएको छ । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ । स्वाब परीक्षण गर्दा गलत फाराम भरेपछि उनीहरुको खोजीमा समेत समस्या परेको छ । काठमाडौं महानगरपालिकाका ४ सय ५२ र ललितपुर महानगरपालिकाका ७५ जना कोरोना पोजेटिभ रिपोर्ट आएकाहरु सम्पर्कविहीन रहेका छन् ।

दुई महानगरपालिकाभित्र टेकु अस्पताल र विभिन्न ल्याबमा परीक्षण गर्न स्वाब संकलन गर्दा गलत ठेगाना, मोबाइल नम्बर दिँदा समस्या भएको काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले बताउनुभयो । परीक्षण गर्ने क्रममा काठमाडौं लेखेका र परीक्षण गर्दा पोजेटिभ आएर सम्पर्क गर्दा धेरैजनाको मोबाइल स्विच अफ हुने गरेको उहाँले बताउनुभयो ।

विवरणअनुसार संक्रमण देखिएको व्यक्ति नभेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभागमा विवरण पठाउन लागिएको कामपा कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले राजधानीमा स्वाब दिएर संक्रमित देखेपछि मोबाइल स्विच अफ गर्ने व्यक्तिको सम्पर्क गर्ने जिम्मा कामपालाई दिने गरेको छ । कामपाले फेला नपारेपछि सरकारले ती व्यक्तिलाई खोजी गर्न प्रहरीलाई जिम्मा दिने गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले शुरुवाती चरणमा यस्ता घटना भएपछि अहिले कमी हुन थालेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू