अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ सय ७१ पुग्यो, थप १ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ भदौ ३० गते ८:०५ मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको हो । केही दिन यता नेपालमा दैनिक कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ। आज (मंगलबार) भने एकै दिन सबैभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यसअघि शुक्रबार पनि एकै दिन सबैभन्दा बढी १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो।

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। प्रवक्ता गौतमका अनुसार १५ हजार ७७९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ६४० छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १४९ जना रहेका छन्। क्वारेन्टाइनमा सात हजार २५० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

२४ घण्टामा एक हजार ६२ जना कोरोना जितेर डिस्चार्ज भएसंगै कोरोनाको उपचारपछि ४० हजार ५ सय २ जना निको भएका छन् । मन्त्रालयका अनुसार अहिले १७४ जनाको आइसीयूमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कोरोनाले गत २४ घण्टा यता ११ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू