अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 21:11

सिन्धुपाल्चोकमा असार यता मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझैँ वेपत्ता

बिआरटीनेपाल २०७७ भदौ २९ गते ६:५९ मा प्रकाशित

बितेको दुई महिनामा सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी ७४ जनाको मृत्यु भएको छ । हालसम्म ४१ जना वेपत्ता रहेका छन् । हिजो बाह्रबिसे नगरपालिका ७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ जना हालसम्म पनि वेपत्ता छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ९ मा बाढी पहिरोले २ जनलाई बगाएको थियो भने १ जना हालसम्म पनि वेपत्ता छन् ।

गत असार २४ गतेको पहिरोले बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा पनि ठूलो क्षति पु¥याएको थियो । बाह्रबीसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी आएको पहिरोले दुई जनाको मृत्यु भएको थियो भने १७ जना हालसम्म पनि हराइरहेका छन् । त्यही दिन भोटेकोशी गाँउपालिका–४ वुलकुटेमा बाढीले बगाएर एक जनाको मृत्यु भएको थियो । साउन १ गते भोटेकोशी गाउपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुरेकोमा धेरै ठूलो प्रयासपछि मात्र शव फेला परेको थियो ।

गत साउन १९ गते राति परेको अविरल वर्षका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा ९ जनाको मृत्यु भएको थियो । मेलम्ची खानेपानीको गेट फुटला खोलाको बेगले २ जनालाई बगाएको थियो जसमा १ जना हालसम्म पनि हराइरेहका छन् । साउन ३० गते सिंगो गाउँ नै पुरिने गरी आएको लिदी पहिरोमा परी ३६ जनाको मृत्यु भएको थियो भने पहिरोमा हालसम्म पनि २ जना हराइरहेका छन् ।

बिभिन्न पहिरोमा हालसम्म ४२ जना हराईरहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । पहिरोमा परी जिल्लाभर १ सय ३० घर पूर्ण रुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । जसमा बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाँउपालिकामा २०, जुगल गाँउपालिकामा २९ र शुनकोशी गाँउपालिकामा ४ घर पहिरोले पूर्ण रुपमा क्षति पुर्याएकोे छ । बाढीपहिरोपछि सबैभन्दा बढी बाह्रबीसे नगरपालिकाको १४ सय ४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू