अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

ओम्नीलाई कालोसूचिमा राख्ने निर्णय कार्यान्वयन, एक वर्ष कुनै ठेक्कामा भाग लिन नपाउने

बिआरटीनेपाल २०७७ भदौ २९ गते १:२६ मा प्रकाशित

सार्वजनिक अनुगमन खरिद कार्यालयले ओबिसिआई प्राइभेट लिमिटेड (बोलिचालीमा ओम्नी) कम्पनीलाई एक वर्षका लागि कालोसूचिमा राख्ने निर्णय गरेको छ।स्वास्थ्य सेवा विभागको सिफारिसअनुसार कार्यालयले आइतबार ओम्नीलाई कालोसूचिमा राख्ने निर्णय गरेर सोमबार सूचना सार्वजनिक गरेको हो। सरकारले गत चैत १९ गते नै ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरे पनि पाँच महिना ढिलो गरी कार्यान्वयन गरेको हो।

सार्वजनिक अनुगमन खरिद कार्यालयले एक वर्षका लागि देशभर कुनै पनि ठेक्का तथा आपूर्ति प्रक्रियामा भाग लिन नपाउने निर्णय गरेको हो। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन अघि नै सरकारले आवश्यक सामग्री खरिदका लागि स्वास्थ्य सेवा विभागले नियमित टेण्टर आह्वान गरेको थियो।

नियमित टेण्टरलाई रद्द गर्दै विभागले केही घण्टाको मात्र समय दिएर चैत १२ गते आपूर्तिकर्ता केही कम्पनीलाई बोलाएर छलफल गरेको थियो। छलफलबाट ओम्नीसँग पूर्वनिर्धारित सेटिङ अनुसार विभागले रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा विभागले चैत १४ गते ओम्नीसँग सामान खरिद गर्ने सम्झौता गरेको थियो।

सम्झौताको पर्सिपल्ट नै ओम्नीले चैत १६ गते सम्झौताअनुसार नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौँमा पहिलो लटको सामान झारेको थियो। पहिलोपटक ल्याएको सामान १० हजार थान पिपिइ, १० हजार एन–९५ मास्क र एक लाख जोडा ग्लोब्स ल्याएको थियो जुन सम्झौताको १० प्रतिशत मात्र थियो। उक्त सामान झारेपछि उक्त सम्झौता बजार मूल्यभन्दा निक्कै महँगो भएको र सामानसमेत गुणस्तरहीन रहेको तथ्य सञ्चारमाध्यमबाट सार्वजनिक भए।

त्यसको चौतर्फी विरोध भएपछि चैत १९ गते ओम्नीसँगको सम्झौता तोड्ने निर्णय गर्यो। मन्त्रिपरिषद्ले सम्झौता तोड्ने निर्णय मात्र लिएन ओम्नीलाई कालोसूचीमा राख्ने र उसले हिमालयन बैंकमा राखेको पाँच लाख १६ हजार ९ सय २२ अमेरिकी डलरसमेत जफत गर्ने निर्णय लिएको थियो। उक्त स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको आशंकामा संसदको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ।

सार्वजनिक खरिद अनुमगन कार्यालयले ओम्नीसँगै अरुण कन्ट्रक्सन, वी.टी. टौदह फस्कु जे.भी. निर्माण सेवा बत्तिसपुतली, टौदह कन्ट्रक्सन चाल्नाखेल र फस्कु निर्माण सेवा दोखलाई दुई वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू