अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

स्थगित कोरोना परीक्षण खोप पुनः सुरु गर्दै अक्सफोर्ड विश्वविद्यालय

बिआरटीनेपाल २०७७ भदौ २७ गते २१:५३ मा प्रकाशित

कोरोना भाइरसविरुद्ध अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा खोपको अन्तिम चरणको मानवीय परीक्षण पुनः सुरु हुने भएको छ । शुरुवातमा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (साइड इफेक्ट) देखिएपछि राकिएको मानवीय परीक्षण पुनः सुरु गरिन् भएको हो ।

बिबिसीका अनुसार तेस्रो चरणको बिस्तारित मानवीय परीक्षण पुनः सुरु गर्ने तयारी भइरहेका खोप निर्माताले बताएका छन् । एस्ट्राजेनेकाले गएको मंगलबार गम्भीर रियाक्सन खोपसँग सम्बन्धित हो वा होइन भन्नेबारे अध्ययन भइरहेको बताएको थियो । बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया देखिएपछि बेलायतमा भइरहेको तेस्रो चरणको परीक्षण रोकिएको थियो ।

तर अक्सफोर्ड विश्वविद्यालयले शनिवार मात्रै खोपको परीक्षण गर्न सुरक्षित रहेको निष्कर्ष निकालिएको र चाँडै तेस्रो चरणको परीक्षणलाई पुनः निरन्तरता दिइने जनाएको छ । खोपको बिस्तारित परीक्षणको क्रममा केही मानिसमा गम्भीर प्रतिक्रिया देखिने र बिरामी पर्ने सम्भावना हुने विश्वविद्यालयले जनाएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले खोपको परीक्षण पुनः सुरु गर्ने कुराको स्वागत गरेका छन् । तत्कालका लागि गरिएको खोप परीक्षणको रोकले मानिसको सुरक्षा पहिलो प्राथमिकतामा रहेको देखाउने उनले बताए ।

खोपको परीक्षणमा विश्वको नजर

कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा संसारभरका मानिसहरु त्यसले निकाल्ने नतिजा कुरिरहेका छन् । एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षासमेत गरिएको छ ।

मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएपछि विश्वास बढेको यो खोप तेस्रो चरणको परीक्षण हुँदा भने केही प्रश्नहरु उठेका थिए । अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरी ३० हजार मानिसहरुमा तेस्रो चरणको परीक्षण गरिएको थियो । खोप निर्माणका लागि वैज्ञानिकहरुले तीव्र गतिमा काम गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावअघि नै खोप प्रयोगमा ल्याइसक्ने बताउँदे आएका छन् । तर राष्ट्रपति ट्रम्पको यो भनाइले स्वंय विज्ञहरुलाई नै सशंकित बनाएको छ । राष्ट्रपति पदका अर्का उम्मेदवार जो बाइडनेले भने सुरक्षित खोपको विकल्प नरहेको तर खोपलाई राजनीतिक स्वार्थ पूर्तिको माध्यम बनाउन नमिल्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू