अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

सिन्धुपाल्चोकमा पहिरोः मृत्यु भएका ११ जनाको सनाखत, वेपत्ता २० जनाको खोजी कार्य जारी

बिआरटीनेपाल २०७७ भदौ २७ गते २१:३१ मा प्रकाशित

सिन्धुपाल्चोकको बाह्रबिसे ७ घुम्थाङमा पहिरो जाँदा पुरिएका ११ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो ।

मृतकहरुमा नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्सी शेर्पा, २३ वर्षका जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक र ६० वर्षका सर्किनी नेवार अनि ६५ वर्षका धनलाल विक रहनुभएको छ ।

६० वर्षका हिरामाया नेवार, ४२ वर्षका ज्ञानीमाया प्रधान, २५ वर्षका कर्णबहादुर श्रेष्ठ र ५ वर्षका सरस्वती विकको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । २० जना वेपत्ताहरूको उद्धार कार्य जारी राखिएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा अझै २० जना बेपत्ता छन् । उनीहरूको सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ । बेपत्तामध्ये ५ जनाको जीवितै उद्धार गरिएको छ । पुरिएको अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । भीरखर्कबाट खसेको पहिरोमा परी दुई गाउँमा क्षति पुगेको थियो ।

पहिरोले १२ वटा घर बगाएको छ । वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरिएका छन् । हालसम्म सुरक्षित मानिएको उक्त स्थानमा पहिरो गएको हो । उक्त स्थानमा भिरकोटबाट करिब १ किलोमिटर लामो पहिरो गइ भोटेकोसी नदीसम्म पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू