अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

कोरोनाका कारण नेपालमा पुष्प व्यवसायको साढे ६ अर्ब लगानी जोखिममा

बिआरटीनेपाल २०७७ भदौ २७ गते ०:१४ मा प्रकाशित

कोरोना भाइरसका कारण पुष्प व्यवसायको साढे ६ अर्ब लगानी जोखिममा परेको छ । बिस्तारै उकालो लाग्दै गरेको पुष्प व्यवसाय कोरोना भाइरसको सङ्क्रमणका कारण फेरि जोखिममा पर्न थालेको छ । मुख्य सिजनमा नै भएको लकडाउन निषेधाज्ञा लगायतका कारण उत्पादन भएका फूल त्यसै खेर गएको छ भने लगानी नउठ्दा व्यवसायी पलायन हुन थालेका छन् ।

अहिले सबैभन्दा धेरै कट्फ्लावरमा नोक्सानी भएको फ्लोरिकल्चर एसोसिएशन अफ नेपालले जनाएको छ । कट्फ्लावरले बजार नपाएपछि २० प्रतिशतले रोजगारी गुमाएका छन् । कट्फ्वारमा मात्रै व्यवसायीको साढे २ अर्बभन्दा धरै लगानी छ । यसअघि कट्फ्लावरबाट वार्षिक एक अर्ब रुपैयाँको कारोबार हुने गरेकोमा अहिले प्रायः शून्य रहेको फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष कुमार कसजुले बताउनुभयो ।

कोरोनाका कारण पर्यटन वर्ष स्थगित हुनुका साथै सभा सम्मेलन र मठ मन्दिर बन्द हुँदा व्यवसायीको लगानी जोखिममा परेको हो । कट्फ्लावरको उत्पादन भइरहे पनि खुद्रा पसल बन्द हुँदा त्यसै फाल्नु परेको पुष्प व्यवसायीले बताएका छन् ।

नेपालमा भारत र युरोपेली देशबाट कट्प्लान्ट ल्याएर कट्फ्लावरको उत्पादन हुँदै आएको छ । कट्फ्लावरका लागि आधुनिक पूर्वाधारको निमार्ण गर्नु पर्ने भएकाले यो व्यवसाय अन्य पुष्प खेतीको तुलनामा खर्चिलो हुने व्यवसायीले बताएका छन् । कट्फ्लावरसहित अन्य फूलको व्यवसायमा अहिले सात सयभन्दा धेरै व्यवसायी आबद्ध छन् । एक सय ५७ हेक्टर क्षेत्रफलमा फूलको खेती भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू