अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

‘ब्याक बेन्चर’ निबन्ध सङ्ग्रहभित्र पसेर निस्कँदा

रमेश घिमिरे २०७७ भदौ २६ गते १०:३१ मा प्रकाशित

कृति समीक्षा —

निबन्धकारिता र पूर्वपठन:
नेपाली साहित्यमा तीसको दशकदेखि कलम चलाएर चर्चा, वादविवाद, पुरस्कार र हल्लाको शेरगुलबाट बिल्कुलै टाढा रहन रुचाउने साहित्यकार पेशल आचार्य समकालीन कवि, कथाकार र निबन्धकार समेत हुन् । यिनका उपरोक्त विधाका गरी १० वटा कृति प्रकाशित भैसकेका छन् । तीस वर्षको फुटकर लेखनपछि मात्र २०६० सालमा यिनको पहिलो कृति ‘कमिलाको ताँती’ प्रकाशित भएको थियो । अहिले यतिखेर भने म निबन्धकार पेशल आचार्यकृत संवत् २०७६ माघमा बजारमा आएको आत्मपरक निबन्धको कृति ‘ब्याक बेन्चर’ माथि समीक्षात्मक टिप्पणी गर्ने जमर्को गर्दैछु ।
मूलतः आचार्य व्यास शैली र पुनर्पुष्टिमय तौर तरिकामा आफ्ना विविध अनुभूतिहरू पस्कन रुचाउने उम्दा निबन्धकार हुन् । यिनी समकालीन निबन्ध लेखकहरूका तुलनामा विषय वैविध्यता, प्रस्तुति र शैलीमा नूतनता प्रदान गर्ने निबन्धकार समेत हुन् । यिनका निबन्धले थाहै नदिई जीवनगीता, दर्शन, समाज, भोगाइ, प्रेम, यौन, कर्तव्य, राजनीति र भविष्यलाई आफ्ना निबन्धमार्फत सुटुक्क पाठकलाई रसपान गराउन सामर्थ्य राख्छन् । यही नै यिनको मूल विशेषता हो ।

२९ ओटा सुललित पारका आत्मपरक निबन्धहरू सङ्ग्रहित यस कृतिका अधिकांश निबन्धहरू कान्तिपुर दैनिकको ‘कोसेली’, नागरिक दैनिकको ‘अक्षर’, ‘नेपाल’ साप्ताहिक, ‘गरिमा’, ‘मधुपर्क’ मासिक, ‘मिर्मिरे’ द्वैमासिक, ‘सिकाइ’ मासिक, ‘समकालीन साहित्य डटकम’, ‘शिवपुरी सन्देश’ त्रैमासिक, ‘शाल्मलि’ मासिक, ‘शारदा’ मासिक, ‘शब्दाङ्कुर’ र ‘समष्टि’ मासिकजस्ता नेपालका धेरै ख्यातानाम पत्रपत्रिकामा विभिन्न कालखण्डमा छापिएका रहेछन् । पत्रपत्रिकामा छापिएका निबन्धहरूको बाहुल्यताले कृतिलाई ओजिलो र सम्प्रेष्य बनाएको छ नै । चुनिएका निबन्धहरूको सङ्कलनले कृति गहन समेत बनेको छ ।

एक पटक सम्बन्धित पत्रपत्रिकाका सम्पादकले सम्पादन गरेर छापेको सामग्री पक्कै पनि विषय, कला र अभिव्यक्तिमा गुणवत्ताको हिसाबकिताब राम्रै गरी गरेको हुन्छ, त्यो कुरा यस कृतिका निबन्धहरूले मीठो र सरल रूपमा झल्काएका छन्, देखाएका छन् ।

‘मलाई निकै प्रेमपूर्वक पेशल सरले यो कृति उपहार दिनुभएको’ थियो । उहाँको चिरपरिचित हस्ताक्षरमा सप्रेम सम्झना लेखेर दिनुभएको यस कृति एकै रातमा पढिसकेर भोलिपल्ट केही लेखौँला भन्ने थियो, तर यो मैले एक महिनाभन्दा बढी समयमा बल्लबल्ल पूरा गर्न सकेँ, अझै कतिपय निबन्धहरूले मथिङ्गल हल्लाएका हल्लायै छन्, अनन्त लेखकीय सामर्थ्यको भेउ पत्ता लाउन सकिरहेको छैन । आत्मपरकताभित्र शब्दका जादुगर निबन्धकार यति गहिराइमा पसेका छन् कि त्यसको न मापो छ न जानकारी ! यही असमञ्जसका बिच केही कुरा लेख्न गैरहेको छु, थाहा छैन कत्तिको न्याय गर्न सक्छु ?

अभिव्यक्तिको निर्बन्धतामा बगेका सिर्जनाहरूले मेरो मन असाध्यै रमाउँछ । मानिसले भोगेका दुःख र दर्दको गीत, अनुभूतिका सीमान्त विचारहरूको सारभूत प्रवाह लेखनमा मुखरित भएका कृतिहरूले मेरो अभ्यन्तर पानी पानी हुन्छ –प्रसन्नताले । महाकवि देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रहको पठनपछि मभित्र एक प्रकारको प्रभावले गाँजेर लगेको थियो आफू तेह्र वर्षको हुँदा । त्यहाँ प्रयुक्त शब्द र कलाको चास्नीले भिजेर म पनि निबन्धको महासागरमा पौडिन आइपुगेँ । निबन्धको यो विचार र भावनाको लोक जहाँ उन्मुक्त कावा खाने पन्छी मनुवा हुन पाउँदा मलाई असीम खुसीको चरमानन्द प्राप्त भइजान्छ । पछि शङ्कर लामिछानेले पारिजातको शिरीषको फूल उपन्यासमा लेखेको गहन निबन्ध शैलीको भूमिकाको पठनपछि म अझै धेरै निबन्धप्रति आकृष्ट भइगएँ । लामिछानेको एब्ट्रयाक्ट: एक चिन्तन प्याज निबन्धको अध्ययनपछि त म निबन्धको प्रेमी भैसकेको रहेछु ।

हुरुक्कै भएँ र आफैँले लेख्न थाले निबन्धका अनुच्छेदहरू, बाँधेर एउटा सृष्टि गर्न मन लाग्यो । दुई ओटा निबन्धका चल्लाहरू प्रकाशित पनि गरिसकेँ तर यसको धित कहिल्यै मर्दैन ।

वस्तुपरकभन्दा आत्मपरक निबन्ध बहुत प्रीतिकर लाग्न थाले । आत्मपरक निबन्धका कृतिहरू बजारमा कमै आउँछन्, आए पनि संस्मरण, यात्रा अनुभूतिका नाउँमा ज्यादा आउँछन् । संस्मरणहरू आख्यान र निबन्धको सन्निकट रहेर आउँछन् । तिनले बोक्ने निबन्धीय चेत उति मुखरित हुँदैनन् । बजारले आख्यान पिटेको छ । निबन्ध लेखेको छु प्रकाशन गर्नुृप¥यो भनी कुनै प्रकाशनमा पुग्दा धेरैले नाक खुम्च्याउँछन् । आख्यान लेख्नुस् राम्रो भए छापिदिन्छौँ भन्छन् । तर निबन्धलाई सबैले हेप्छन् । निबन्ध अखबारी लेखन मात्र होइन । अखबारी लेखनले मात्र निबन्धको धर्म र स्वरूप निभाउन र देखाउन सक्दैन भन्ने मलाई लाग्दछ । निबन्धकै नाउँमा कृतिहरू आउन् र तिनले निबन्धको निर्बन्धीय धर्मलाई आत्मसात् गरून् भन्ने लाग्दछ ।

राम्रा पक्षहरू:
पेशल सरको निबन्ध कृति हातमा परेपछि मैले आत्मपरक निबन्धको भोक मेटाएँ भन्दा हुन्छ । तर त्यो भोक फेरि लाग्न छोड्दैन किनकि निबन्ध मेरो भोक हो, सोख हो, खोज हो, कला र साहित्यप्रतिको पहिलो अनुराग हो ।

मैले पढ्न अन्तिमबाट सुरु गरेँ, ‘रित्तो गुँड र चरा नियति’ । किन यो शीर्षक कृतिको नै मूल शीर्षक बन्न सकेन ? रातभर प्रश्नले जेलिएँ । लेखकले आफ्नी छोरी विदेश उड्ने बेलाको अनुभूतिलाई सग्लो जीवन दिएका छन् – त्यहाँ । त्यति मात्र भए त हुन्थ्यो, त्यसमा जीवनको रङ दिएका छन्, कला र अभिव्यक्तिको सीमान्तता दिएका छन्, भावनाको निर्बन्धतालाई मुखरित बनाइदिएका छन् । जीवन भनेको रिले दौड त रहेछ । सबै सबै कुद्ने, कुदिरहने । विगत कुद्यो, त्यसपछि वर्तमान कुद्दैछ, भोलि आगत पनि त्यसै गरी कुद्ने नै छ, भन्छन् उनी र गीता ज्ञानमा पुगेर टुङ्ग्याइदिन्छन् । लाग्छ, जीवनका लीलाहरू यसै गरी सम्पन्न हुँदो हो अभिव्यक्तिमा ।

त्यसपछि ‘पानी अङ्कल’ ले नराम्ररी हिर्कायो मलाई, मेरो हृदयलाई । लेखकको सानो छोरो आरम्भले ‘पानी अङ्कल’ भन्यो त्यसमा हुनुपर्ने केही थिएन, तर भइदियो जीवनका पानी रङहरूको सीमान्त आभास र अनुभूति । भूकम्पका उच्छ्वासहरूले निथ्रुक्क भिजाएका अनुभूति मात्र होइन जीवनमा मूल्यहीन मूल्यहरूको खोजी र तिनको क्षणभङ्गुरताले मन मुटुका सीमाहरू भत्काएर गए । यो एउटै निबन्धमा यो पुरै २४० पेजको पुस्तक किन नलेख्ने ? मेरो अनुभूतिले यो भन्यो ।

‘दुःख आफैँ दुख्ने गर्छ’ निबन्ध बडो दार्शनिक अभिव्यक्तिको पराकाष्ठा लाग्छ । देख्दा सामान्य अरूले भनेकै, सुनेकै कुरा हो –दुःख । दुःखको अनुभूतिले मानिसलाई नयाँ बाटो दिन्छ, उसका दृष्टिकोणहरूमा बदलाव ल्याइदिन्छ र एउटा सग्लो जीवन बोध गरेर फर्किन्छ मानिस –जीवनको लयमा । ‘शम्भवामी युगे युगे’ गीताको सबैले सुनेकै श्लोक हो । लेखक पेशलले यो लाइनलाई निबन्ध बनाइदिए । त्यति मात्र भए त हुन्थ्यो, तीता आँसुका कथाहरूमा ल्याएर जीवन तासको खाल हो, तासकै कफ्टर हो भने यिनले । युगौयुगसम्म खोज्ने हो, खोजिरहने हो भनिदिए । आखिर हो पनि, खोज्नेबाहेक के छ र हामीले ? जीवनको कटु सत्य खोजाइ बाहेक के रह्यो ??

‘कीर्तिपुरे जुत्ता’ लेखकको कीर्तिपुर र चर्चित साहित्यकार जगदीश घिमिरेसँग जोडिएको अनुभूतिको यस्तो राग हो जो देख्दा उस्तै सामान्य लाग्न सक्छ सबैलाई तर त्यसले दिने मिहिन भाव र जीवन बोधी अर्थ पर्गेल्न कम्ती चुनौती छैन । जीवनका सबै कुरा एकैचोटी नबुझिने रहेछन्मा ल्याएर निबन्ध टुङ्गाइदिएर यिनले पाठकमाथि जीवनमा खोज्न नसकिएको, नसकिने अर्थबारे जीवनभरि प्रश्न दिएका छन् । भनिन्छ, शिक्षाको मूल उद्देश्य ‘उत्तर खोज्ने होइन प्रश्न जन्माउने जनशक्ति तयार गर्नु हो ।’ यसमा लेखक सफल भएका छन् ।

‘समय बालापन फर्काइदे’ भन्ने उनले ‘सम्भावनाहरूको जुलुस’ समेत लेख्न भ्याएका छन् । पेशल आफैँ मेरा गुरु हुन् उनले माध्यमिक तहमा नेपाली विषय पढाएर मात्र होइन साहित्य प्रतिको भोक जगाएर समेत गुरु भएका हुन् । यिनले पढाउँदा प्रत्येक पाठको बुँदा टिपोट गराउँछन् जहाँ पाठका मूलभूत पक्षहरू समेटिदिन्छन् । तर ती बुँदाहरू टिप्नुपर्दा मलाई बहुत झिँझो लागेर आउँथ्यो, कैले सकिएला घण्टीजस्तो लागिरहन्थ्यो । जब पाठको भाव बोध गराउन लेक्चर दिन्थे यिनी म खुसीले गद्गद् हुन्थेँ । श्रुतिमधूर आवाजमा यिनले दिने लेक्चर ४५ मिनेटको तीन ओटा पिरियड भइदिए पनि हुन्थ्यो जस्तो लागिरहन्थ्यो । नेपाली व्याकरण पढाउँदा सूत्रबद्ध शैलीमा झिलिक्क बिजुली चम्किए जसरी सिकाइदिन्थे पेशल गुरु । यहाँ ‘गुरु जब गोरु हुन्छ’ लेखेका छन् यिनले, मन स्मरणीय शैलीमा । शिक्षक जीवनका अँध्यारा पाटाहरू चोटिलो साक्षात्कार गराएका छन् ।

‘नाइँ भनौँ’ भन्ने यिनले प्रश्न उत्पादन गर्न र उठाउन सिकाएका छन् । हुँदा हुँदा यिनी ‘कपुरी क’ सम्म खोतल्न पुग्छन् । खोतल्न मात्र होइन, खोतलेर नसकिने जिन्दगीको अक्कर भीरमा ‘भाव, अभाव र प्रभाव’ को मूल्याङ्कन गर्न समेत पुग्दछन् । ‘अक्षरहरूको बिस्कुन’ सुकाएर हातमा कलम लिँदै ‘शब्दहरूका पछाडिपछाडि’ कुदिरहेका पेशल ‘असत्य मेव जयते’ भनेर प्रधानमन्त्रीले प्रतिनिधि सभामा भाषण गर्नु धेरै अगाडि निबन्ध लेखिसकेका नदी स्रष्टा हुन् जो अविरल बगिरहनुसँग निरन्तर लेखिरहनुको तादात्म्यता राख्दछन् ।

‘दुई र द्वन्द्व’ जस्तो गहन निबन्ध लेख्ने पेशल ‘भार्या चिन्तन’ मा अल्झिएका छन् । यिनका अन्य चर्चित निबन्धका तुलनामा भार्या चिन्तन केके न लेखेँ जसरी हात लाग्यो शून्यमा आएर टुङ्गिएको लाग्छ । ‘सलाद बनाइँदै छ देश’ भनेर मुलुकको राजनीतिक अस्थिरतामाथि चोटिलो प्रहार गर्ने लेखकले देशमा ‘चोर घाम’ होइन सुनको बिहान भनिने लोकतन्त्रको घाम लागोस् भनी पवित्र लेखकीय कामना गरेका छन् जो अविस्मरणीय र सपाट छ ।

जीवनमा पूर्वाधको झन्झट ‘मीठो झन्झट’, उत्तरार्द्धको झन्झट तीतो झन्झट भएको विवाह र यौनानुभूतिका सुकिला अक्षरहरू सङ्केतका रूपमा दिएर गएका छन् ।

‘सबैभन्दा तीक्ष्ण दिमाग कक्षा कोठाका अन्तिम बेन्चमा भेटिन सक्छन्’ भन्ने वाणीका महापुरुष भारतीय पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको भनाइ यिनको लेखनीको टर्निङ प्वाइन्ट हो जहाँबाट ‘ब्याकबेन्चर’ निबन्ध निसृतःभै कोसी, गण्डकी र कर्णाली भएर बगेको छ, बगिरहेको छ । यिनले क्लासका अन्तिम बेन्चमा बस्नेहरूले जीवनको परीक्षामा इमानदार औ असल बनेर निस्केको धेरै देखे र त्यसले यिनको मथिङ्गल मज्जाले रिङ्ग्याएको छ ।

राम्रा भनेका र आसा गरेका विद्यार्थी व्यवहारमा असल देखिएनन्, भएनन्, बरु कुनै सम्भावना नदेखेका विद्यार्थी जीवनमा असल व्यवहार र सार्थक जीवनका पर्याय बनिदिए । यो जीवनको कटु यथार्थ र सत्य हो । हामीले सोचेको हुँदैन, नसोचेको हुन्छ । जीवन लीला हो भन्ने सत्य बोध पाठकसामु छर्लङ्ग पारिदिएका छन् ।

महाकवि देवकोटाको शब्द सापट लिएर ‘साला ! दाल, भात, डुकु’ यिनले यति मज्जाले लेखेका छन् कि निबन्धको इतिहासमा यस्तो शिल्प, शैली र प्रयोगले मिठासको तह पार गरेको छ । जीवनका सारा सृजनशीलताहरू दाल, भात, डुकुमा गएर सकिएका छन् । जीवनका सपनाहरू, उद्देश्य र सङ्कल्पहरू दाल, भात, डुकुसँग साटिएका छन् । यहाँभन्दा विद्रूपता अरू के हुन सक्छ ? यहाँभन्दा क्रूरता अरू के हुन सक्छ ? यो जीवन हो जे हुन पनि सक्छ, नहुन पनि सक्छ, जे हुन्छ नसोचेको धेरै हुन्छ ।

सुधार गर्नुपर्ने पक्षहरू:
‘भुईँ मान्छे’, ‘विदित/अविदित’, ‘भाव, अभाव र प्रभाव’जस्ता केही सस्ता र निबन्धीय भन्दा बढी भावपरक गफाडी बनेका छन् यिनी – यो सङ्ग्रहभित्र । ‘कट्फर’ यिनलाई मन परेको शब्द हो जसमा ‘संस्कार’ र ‘जिन्दगी’ जोडेका छन् । हुँदाहुदा ‘जीवनले के दियो ?’ भन्न समेत यिनी पछि पर्दैनन् । ‘सम्पादकको मृत्यु’ भएको घोषणापत्र समेत छपाएका छन् यिनले गहन र रोचक पारामा तर अझै पुग्नुपर्ने निबन्धीय भाँती भने पुगेको महसुस हुँदैन ।

ब्याकबेन्चर निबन्ध कृतिमा भएको दाँतमा ढुङ्गा लागेजस्तो सत्य कुरा के हो भने फरक फरक समयमा फरक फरक पत्रपत्रिकामा छापिएका निबन्धहरूमा एउटै उक्ति, भनाइ र तथ्यहरू जहाँतहीँ पुनरावृत्ति भएका छन् । जुनसुकै निबन्धमा एउटै उक्ति दोहोरिरहन्छ । जस्तै: उदाहरण हेरौँ, गुरु गुण र चेला चिनी धेरै निबन्धमा छ । संसार आँसुले बनेको हो । संसार जित्ने मानिस घरमा हार्छ । अरू अरू धेरै छन् दोहोरिइरहेका उक्ति, भनाइ र तथ्यहरू जुन कुनै पनि हिसाबले प्रीतिकर लाग्दैन । कृतिमा पुनरुक्तिको पहाड उभिएको छ जसलाई सम्याउनु र छिमल्नुको कुनै विकल्प छैन ।

यिनको अर्को मूल कमजोरी भाषामा मधुरताको अभाव हो, भाषालाई बाँधेर राख्न यिनी चुकेका छन् । झ्वाट्ट भन्छन्, प्याच्च लेख्छन् । कतिपय शब्दहरू समेत अपाच्य लाग्छन् । अङ्ग्रेजी शब्दहरूसँग यिनको अतीव मोह गाँसिएको छ । शब्दहरू त फुराउँछन् यिनी तर त्यसलाई भाँती पुर्‍याएर वाक्य बनाउन र त्यसलाई सुनौँ सुनौँ पढौंपढौं लाग्ने बनाउन भने कताकति चुकेका छन् ।

शब्द र तथ्यहरूको अतिशय गन्जागोलमा अर्थको अनर्थ लगाइदिन सक्ने खतरा आसा गरेका निबन्धहरू ‘सम्भवामि युगे युगे’, ‘दुःख आफैँ दुख्ने गर्छ’जस्ता अरू निबन्धहरू पनि पर्ने जोखिमका लाग्छन् । साथै राजनीतिक विषयमाथि विचार उठानको यिनको शैली रूखो र नमिठो लाग्छ – कताकता । मूल चुरोलाई छोडेर सतहमा दौडिएका निबन्धहरू पनि छन् ।

निष्कर्ष:
जे होस् निबन्धकार पेशल आचार्यले आफ्नो निबन्ध यात्राको दुई दशक समय यस कृतिमा खर्च गरेका छन् । यसरी आफ्ना अनन्य भनुभूति र यत्रो लामो समय खर्चन सक्नु यिनको लेखकीय धैर्यताको परिचायक हो । यी निबन्धहरूले नेपाली आत्मपरक निबन्धको क्षेत्रमा एउटा पृथक् अस्तित्व र प्रभाव छाड्नेमा दुई मत छैन ।

यी निबन्धहरू समय चेतनाका गद्यात्मक हरफहरू हुन् जसको महत्त्व र प्रभाव अहिले मात्र होइन आजभन्दा ५० वर्ष पछि पनि पर्न जाने सम्भावना देखेको छु – मैले ।

नेपाली साहित्य रुचाउने अझ निबन्ध वा गद्य रुचाउने मानिसले ब्याकबेन्चर नपढ्नु भनेको एउटा समयको ज्वलन्त अभिव्यक्ति छुटाउनु हो । यस मेसोमा भने कृतिकारलाई कृति प्रकाशनका लागि हार्दिकतापूर्वक धन्यवाद दिनै पर्छ ।

(रमेश घिमिरे (समीक्षक): त्रिभुवन विश्व विद्यालयबाट भौतिक शास्त्रमा स्नातकोत्तर गरिरहेका लेखक नेपाली आत्मपरक निबन्धमा औधी रुचि राख्छन् ।)

प्रतिक्रिया