अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

ओमानमा अलपत्र परेका १६५ जना नेपाल फर्किए

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:२७ मा प्रकाशित

ओमानमा रहेको नेपाली दूतावासले आज सम्पर्कबिहीन भएका र मानव तस्करको फन्दामा परी अलपत्र परेका नेपाली महिलालाई स्वदेश पठाएको छ ।केही वर्ष अघिदेखि ओमानमा सम्पर्कबिहीन भएकी झापाकी नेत्रकुमारी राउत र मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानुनी बाटो हुँदै ओमानमा अलपत्र परेका ताप्लेजुङ्गकी अरुण मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई दूतावासले नेपाल पठाएको हो ।

झापाकी नेत्रकुमारी राउत २०७० सालदेखि ओमानमा सम्पर्कबिहीन हुुनुभएको थियो । घरेलु कामदारको रुपमा ओमान जानुभएकी उहाँ परिवारको सम्पर्कमा नभएपछि छोरा नवराज राउतले आफ्नी आमाको खोजीका लागि परराष्ट्रमार्फत निवेदन दिएका थिए ।त्यही आधारमा दूतावासले नै नेत्रकुमारीको खोजी गरेर सम्पर्कमा ल्याएको थियो । स्वास्थ्य अवस्था नाजुक भएकाले घरसम्म लैजाने व्यवस्थाका लागि दूतावासले नै सहजीकरण गरेको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

वैदेशिक रोजगारीको प्रलोभनमा गैरकानुनी बाटो हुँदै ओमान पुगेर घरेलु काम गर्ने क्रममा अलपत्र परेका अरुणा र गजकुमारीलाई पनि दूतावासकै समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी आज स्वदेश पठाइएको हो ।साथै, झण्डै ६० जना घरेलु कामदारको रुपमा कार्यरत नेपालीलाई आवश्यक समन्वय तथा पहल गरी आजैको उडानमार्फत घर पठाइएको पनि दूतावासले जनाएको छ । ओमानबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि भएको पाँचौं उडानमार्फत आज जम्मा १६५ जना स्वदेश फर्किएका छन् । आज फर्कने चालक दल र यात्रुसहित सबैको पीसीआर रिपोर्ट नेगेटिभ रहेको पनि दूतावासले जनाएको छ ।

स्वदेश फर्कने नेपालीलाई विमानस्थलमा सहजीकरण र बिदाइ गर्न ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसहित दूतावासका अन्य कर्मचारी आफै गएका थिए । ओमानबाट सरकारले तोकेकोभन्दा सस्तो र सुलभ तरिकाले नेपालीहरु स्वदेश फर्किएका छन् ।दूतावासले नेपालीको स्वदेश फिर्तीका लागि गरेको समन्वय र सहकार्यप्रति फर्कने नेपालीलेसमेत धन्यवाद दिएका छन् । ओमानमा समस्यामा परेका नेपालीलाई सहज रुपमा स्वदेश फिर्तीका लागि दूतावास लागि परेको र अझै यो कार्य निरन्तर रुपमा गरिरहेको दूतावासले प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू